२०८१ माघ ३० गते , बुधबार

कचनकवल गाउँपालिकामा इन्धन खर्च नियन्त्रण बाहिर, जनप्रतिनिधि र कर्मचारीले सके एक बर्षमा ४९ लाख

sajilo news
पार्थ मण्डल
२०८१ जेष्ठ २५ गते , शुक्रबार
कचनकवल गाउँपालिकामा इन्धन खर्च नियन्त्रण बाहिर, जनप्रतिनिधि र कर्मचारीले सके एक बर्षमा ४९ लाख

झापा । कचनकवल गाउँपालिकाले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम नगरेको पाइएको छ । सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी मार्गदर्शन, २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरूपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्था

गरेको छ । तर, गाउँपालिकाले इन्धन खर्चमा गत आर्थिक वर्ष २०७९/८० मा ४९ लाख १७ हजार ६८१ रुपैयाँ खर्च गरेको महालेखा परीक्षक कार्यालयको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारीसाधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको

विवरण खुल्ने गरी अभिलेख पनि राखेको छैन । नमुना आधारमा भौचर छनौट गरी चैत महिनामा इन्धन खर्चमा ४ लाख ५० हजार को खर्च परीक्षण गर्दा एम्बुलेन्स चालकलाई सो महिनामा ४१० लिटर डिजल, अध्यक्षको गाडी चालकलाई सो महिनामा ३६४ लिटर डिजल, कर्मचारीहरू केशव मैनालीलाई ४५ लिटर, भूमि निरौलालाई २७ लिटर, मचिन्द्र यादवलाई ३४ लिटर, गम्भीर थुलुङलाई २८ लिटर, दीपेन्द्र गणेशलाई २१ लिटर पेट्रोलको कुपन काटेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै गरी असार महिनामा इन्धन खर्चमा ४ हजार ६ हजार ८६७ रुपैयाँको खर्च परीक्षण गर्दा एम्बुलेन्स चालकलाई सो महिनामा ३१५ लिटर डिजल, अध्यक्षको गाडी चालकलाई सो महिनामा ३०० लिटर डिजल, कर्मचारीहरू केशव मैनालीलाई ४५ लिटर, भूमि निरौलालाई २१ लिटर पेट्रोल इन्धन कुपनमार्फत उपलब्ध गराएको रहेछ । इन्धन खर्चलाई मितव्ययी बनाउन पदाधिकारी तथा कर्मचारीको नमुना कार्य सञ्चालन निर्देशिकालाई आधार मानी इन्धनको कोटा निर्धारण गरी इन्धन खर्च नियन्त्रण गर्ने तर्फ पालिकाको ध्यान जानुपर्ने प्रतिवेदनमा भनिएको छ । 

सम्बन्धित समाचार