टी-२० विश्वकप सुरु, क्यानडाविरुद्ध अमेरिकाको शानदार जित
आईसीसी टी–२० विश्वकप आजबाट अमेरिकामा शुरु भएको छ। वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ।
उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाए।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए। त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए।
जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ। अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।
प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो।
सहभागी २० टोलीमा सन् २०२२ को विश्वकपको शीर्ष आठ र टी–२० वरीयताको आधारमा दुई टोलीले सिधैं स्थान बनाउँदा अन्य ८ टोली क्षेत्रीय छनोटबाट स्थान बनाएका हुन्। यस्तै वेस्ट इन्डिज र अमेरिका आयोजकको रूपमा सिधैं विश्वकप खेल्न पाएका हुन्।सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानसँगै क्यानडा, आयरल्याण्ड र आयोजक अमेरिका रहेका छन्।
यस्तै समूह ‘बी’मा साविक विजेता इंग्ल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् भने समूह ‘सी’मा न्युजिल्यान्ड, आयोजक वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा तथा समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश नेपाल र नेदरल्याण्ड्स रहेका छन्।
सबै समूहको शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। उक्त आठ टोलीलाई सुपर आठमा चार–चार टोलीको दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहको शीर्ष दुई स्थानमा रहने चार टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलको विजेता टोली २९ जुनमा हुने फाइनल खेलमा उपाधिको लागि भिड्नेछन्।