२०८१ श्रावण २ गते , बुधबार

आँगनमा खानी र जडीबुटीको भण्डार, माल पाएर चाल नपाउँदा युवा विदेश पलायन

sajilo news
पत्रपत्रिका
२०८१ जेष्ठ ११ गते , शुक्रबार
आँगनमा खानी र जडीबुटीको भण्डार, माल पाएर चाल नपाउँदा युवा विदेश पलायन

झापा । कृषि मलमा प्रयोग हुने ‘फस्फोराइट’ खानीदेखि क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायनयुक्त जडीबुटीका लागि बैतडी जिल्ला भण्डार मानिन्छ । यहाँ विभिन्न खनिज पदार्थका अतिरिक्त उपयोगी जडीबुटीसमेत पाइन्छ । 

खानी र जडीबुटीको उपयोग नहुँदा माल पाएर पनि चाल नपाए जस्तै गरी युवा रोजगारीको खोजीमा विदेश पलायन हुन थालेका छन् । युवा जनशक्ति पलायन हुँदा गाउँमा वृद्ध, महिला, केटाकेटीबाहेक कोही भेटिँदैनन् । अधिकांश युवा कामको खोजीमा भारत जाने गरे पनि पछिल्लो समय खाडी मुलुक र मलेसिया जानेको सङ्ख्या बढेको छ । मलेसिया गएका सिगास गाउँपालिका–१ का लोकराज भट्ट उतै बेपत्ता भएपछि घरमा वृद्ध आमाबुवा आठ वर्षदेखि छोराको बाटो कुरेर बसिरहेका छन् । 

भारतमा ज्याला मजदुरीले जीविका नचलेपछि सोही वडाका हर्कबहादुर ऐरी दुई लाख रुपियाँ ऋण लिएर खाडी मुलुक पसे । सोही वडाका अर्का युवा बलवेद ऐरी वृद्ध आमाबुवा र जहान परिवार पाल्न कामको खोजीमा भारत हिडेका छन् ।  

बेरोजगारीका कारण गाउँबाट पलायन यी युवा केही प्रतिनिधि पात्र मात्र हुन् । युवा पलायन भएको सिगास गाउँपालिका–१, सुगरखालमा फलाम खानी छ । यहाँको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको प्राविधिक परीक्षणबाट पुष्टि भएको छ तर सडक र बिजुलीको सुविधा नहुँदा खानी उत्खनन हुन सकेको छैन । वडामै खानी र जडीबुटी भए पनि यहाँका ८० प्रतिशत युवा रोजगारीका लागि भारतलगायत खाडी मुलुक पलायन हुने क्रम लामो समयदेखि निरन्तर छ ।  जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला वर्षमा राहदानी लिने युवाको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा राहदानी लिनेको सङ्ख्या पाँच सय रहेकोमा हाल बढेर आव २०७९/८० मा दुई हजार ६८० पुगेको छ । 

बैतडीमा फस्फोराइट, फलाम, चुन ढुङ्गा, शिलाजित, स्लेट र खल बनाउन प्रयोग हुने ढुङ्गाको खानीलगायत सिल्भर खानी रहेका छन् । जडीबुटीतर्फ क्यान्सर रोग निको पार्ने लौठसल्लासहित पाँचऔँले, पाखनवेद, चिराइतो, सुगन्धवाल, चुत्रो, तेजपत्ता, रिट्ठा, सिमजडी, अमला, हर्रोबर्रो, गुड, महलगायत ६५ भन्दा बढी जडीबुटीको भण्डार रहेको छ । 

यद्यपि यहाँको जडीबुटी बिचौलियामार्फत भारत निकासी हुने भएकाले जिल्लामै जडीबुटी प्रशोधन केन्द्र सञ्चालन हुन सकेको छैन । ग्वाल्लेक र सिगास संरक्षित वनमा क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायन निस्कने लौठसल्ला रहेको छ ।  

चाउचाउ र कुरमुरेसँग साटिन्छ जडीबुटी 

विद्यालय जाने बालबालिकाले पाखनवेद र सिमजडी, चुत्रोलगायत जडीबुटी सङ्कलन गरेर बिचौलियासित चाउचाउ र कुरमुरेसित साट्ने गरेका छन् । बिचौलियाले यस्ता जडीबुटी नेपालगन्जको बाटो भएर भारत पठाउने गरेको पाइएको छ । 

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार हरेक वर्ष चार लाख किलो जडीबुटी भारत जाने गरेको छ । तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला र रिट्ठो सबैभन्दा बढी निकासी हुने गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिलीपकुमार यादवले जानकारी दिए । 

उनले भने, “रिट्ठो र तेजपत्तापछि स्थानीय जङ्गली फल किरमडा (चुत्रो) को बोक्रा, जरा र डाँठ बढी निकासी हुने गरेको छ । चुत्रो सङ्कलन गर्न प्रतिकिलो १० रुपियाँ राजस्व तिरेपछि मात्रै यो जडीबुटी निकासी गर्न पाइन्छ ।” आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचार