२०८१ श्रावण २ गते , बुधबार

हिमालमै हिउँ जोगाउन सकस

sajilo news
पत्रपत्रिका
२०८१ जेष्ठ ९ गते , बुधबार
हिमालमै हिउँ जोगाउन सकस

झापा । नेपाललगायत हिउँ थुप्रिने हिमालमा हिउँ घट्दै जाँदा विश्वका विभिन्न स्थानका समुद्री सतह बढ्दै गएका छन् । विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लने क्रम उच्च बनेसँगै विभिन्न भूगोलका समुद्रको सतह बढ्दै गएको छ । यसले हिमालमा नै हिउँ जोगाउन चुनौती बनेको छ । 

यसका साथै हिउँ पग्लेर नदी हुँदै गेग्य्रान समुद्रमा पुग्दा समुद्रको बिच बिचमा पहाड बन्न थालेका छन् । स्मिट ओसन इन्स्टिच्युटले यसै वर्ष प्रकाशन गरेको अध्ययनको तथ्य अनुसार समुद्रमुनि चार वटा पहाड फेला परेका छन् । जसमध्ये सबैभन्दा अग्लो पहाड दुई मिटर चार सेन्टिमिटर उचाइको छ । यी नयाँ समुद्री पहाड कोस्टारिकाबाट चीन जाने समुद्री पथमा भेटिएका हुन् । 

अध्ययन टोलीले गत वर्ष पनि चिलीको समुद्रमा पहाडहरूको जन्म भइरहेको पत्ता लगाएको थियो । अध्ययन अनुसार वर्षौंदेखि समुद्रमा थुप्रिँदै गएको ठोस पदार्थका कारण समुद्रको फेदबाटै पहाड अग्लिइरहेका हुन् । त्यसरी पहाडभन्दा समुद्रको पानीको सतह पनि माथि उकासिँदै गएर पहिले कायम जमिनलाई समुद्रमा समाहित गर्ने क्रम बढाएको अध्ययनको निष्कर्ष छ । 

अर्को एक अध्ययन अनुसार सन् १८८० यता औसत रूपमा समुद्री सतह ८.९ इन्चसम्म बढेको छ । सन् २००६ देखि २०१५ सम्म प्रति वर्ष ०.०६ इन्च बढ्दै गएको समुद्रको सतह २००६ देखि २०१५ सम्म प्रति वर्ष ०.१४ इन्च बढ्न थालेको हो । 

यसरी समुद्री सतह बढ्नुमा हिमालको हिमगलनको भूमिका बढ्दै गएको अध्ययता डा. सुदीप ठकुरी बताउँछन् । विश्वमा सबैभन्दा ठुलो हिउँको थुप्रो भएको अन्टार्कटिका र आर्कटिक क्षेत्रको हिउँ पग्लने क्रम उच्च बनेको उनले बताए । यी दुई क्षेत्रको सबै हिउँ पग्ल्यो भने ६६ मिटर अग्लाइमा समुद्रको सतह बढ्छ । त्यस्तै एसिया क्षेत्रमा पर्ने नेपालका हिमालको हिउँ पग्लेर यताका समुद्रको सतह बढाइरहेको छ । 

उनले भने, “झट्ट हेर्दा हिउँ पग्लेर त्यही तल पानी बनेर झरेको जस्तो मात्र देखिन्छ तर त्यसको असर नदी, बाढी, पहिरो हुँदै समुद्रसम्म पुगिरहेको छ ।” हिमालय क्षेत्रको सबै हिउँ पग्लेको खण्डमा यस क्षेत्रले छोएका समुद्री सतह ०.६० मिटर बढ्छ । 

हरितगृह ग्यास उत्सर्जन र तापक्रम वृद्धिको दर रोक्दै समयमै हिमगलन घटाउन प्रयास भएन भने सन् २१०० सम्ममा अमेरिकी समुद्रको सतह सन् २००० को तुलनामा ०.६ मिटर बढी हुने अनुमान गरिएको छ । जैविक विविधता प्रचुर रहेको हिमाल र हिमनदी पृथ्वीको विकास सभ्यताको सूचक हो । त्यसैले भौगर्भिक तथा जलवायुको हिसाबले पनि हिमाल महत्वपूर्ण छ । उनका अनुसार जलवायु परिवर्तनको असरले हुने मौसमी विपत्का कारण बाढी पहिरोसहितको बहाव समुद्रमै पुग्छ । नेपालको माटो तथा ढुङ्गा बङ्गालको खाडीको तटीय क्षेत्रमा पुगेर त्यहाँ समथर जमिनको सिर्जना गराइरहेको छ । औसत रूपमा बर्सेनि २५ टन प्रतिहेक्टर माटो तथा ठोस पदार्थ नेपालबाट त्यता पुग्ने गरेको छ । 

जलवायुविद् डा. महेश्वर ढकालका अनुसार नेपालको सगरमाथा र हिमाल एसिया क्षेत्रको मात्र नभई विश्वकै जलवायुको सूचक हो । अझ हिमाल र समुद्रको अन्योन्याश्रित सम्बन्धलाई बुझाउने गरी नेपालले पहलकदमी लिनु जरुरी रहेको उनले औँल्याए ।  नेपालको हिमाल जैविक विविधतासँगै भौगर्भिक हिसाबले पनि महत्वपूर्ण छ । समुद्रमा निरन्तर जमिरहेको पानी नेपालको सगरमाथासहितका हिमाल तथा अन्य क्षेत्रका हिमालबाटै गइरहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचार