२०८१ बैशाख २२ गते , शनिबार

उद्योगीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएकै दिन चिया निर्यातमा भारतीय अवरोध हट्यो

sajilo news
पार्थ मण्डल
२०८१ बैशाख १२ गते , बुधबार
उद्योगीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएकै दिन चिया निर्यातमा भारतीय अवरोध हट्यो

झापा । पूर्वका चिया उद्योगीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर चियाको समस्या बारेमा ध्यानाकर्षण गराएकै दिन काँकडभिट्टा–पानीटंकी बोर्डरमा थन्काएर राखेको २४ वटा चिया बोकेका ट्रक भारतीय कस्टमले त्यतिकै छाडिदिएको छ । 
माथिल्लो निकायबाट राजनीतिक दबाब आएको भन्दै पानीटंकी कस्टम अफिसले मंगलबार राती २४ वटै ट्रक छाडिदिएको चिया निकासीकर्ता रोशन अग्रवालले जानकारी दिए । 
गत बुधवारदेखि त्यहाँका भन्सारले गुणस्तर परीक्षण गर्नुपर्ने बहानामा सीटीसी र अर्थोडक्स चिया बोकेका ट्रकहरू पानीटंकी बोर्डरमा रोकेर राखेका थिए । गुणस्तर परीक्षण बिनै पानीटंकी भन्सारले सात दिनपछि ट्रकहरूलाई गन्तव्यतर्फ जान दिएको चिया निकासीकर्ता अग्रवालले बताए । 
चिया बोकेका केही ट्रकहरू पश्चिम बङ्गालको सिलगुढी पुगिसकेको र केही ट्रकहरू कलकत्तातर्फ गइरहेको उनले बताए । ‘हिजो राजनीतिक दबाब परेर ट्रकहरू छाडिदिएको जानकारी आयो,’ उनले भने, ‘भोलिका दिनमा के हुन्छ त्यो थाहा भएन, यस्तै समस्या रहिरहने हो कि समाधान भयो ? त्यो अरू ट्रक पठाएपछि मात्र थाहा हुन्छ ।’ 
पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित पुगेका चिया उद्योगीहरूले प्रधानमन्त्री दाहाललाई भेटेर पटक–पटक भारतीय बजारमा नेपाली चियाले भोग्दै आएको समस्याको बारेमा अवगत गराएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए । ‘प्रधानमन्त्रीलाई भेटेरै गुनासो पोखेकै दिन भारतीय कस्टमले रोकेर राखेको ट्रकहरू छाडिदिएको रहेछ,’ अध्यक्ष पराजुलीले भने, ‘प्रधानमन्त्रीसँग भेटमा उहाँले तत्काल समस्याको समाधान गर्ने आश्वास दिनुभएको थियो, उहाँकै कारण चियाका ट्रकहरू छाडियो ।’ भारतको लोकसभा निर्वाचनका कारण काँकडभिट्टा बोर्डर सिल छ । बोर्डर खुला भएपछि फेरि चियाका ट्रकहरू पठाउँछौँ । ‘त्यसपछि मात्र अवरोध हटेको वा नहटेको यकिन हुन्छ,’ उनले भने । 
नेपाली चियामा भारतीय पक्षको पटक पटकको अवरोध कायमै छ । भारतले विभिन्न बहाना बनाएर नेपाली चिया निर्यातमाथि अङ्कुश लगाउन खोजेको छ । 
भारतीय पक्षको अवरोध नहटे हामी उद्योगहरू बन्द गरी ताला चाबी ल्याएर बुझाउने प्रधानमन्त्रीलाई भनेका थियौँ । प्रधानमन्त्रीले त्यसलाई सकारात्मक रुपमा लिँदै भारतस्थित नेपाली राजदूत वा भारतीय पक्षसँग सोझै कुराकानी गरेर उत्पन्न समस्याको समाधान गर्ने विश्वास दिलाउनु भएको अध्यक्ष पराजुलीले बताए । 
भारतले यही अप्रिल १० तारिखदेखि नेपाली चियामाथि अङ्कुश लगाउन फेरि नयाँ नियम लागू गरेको छ । नेपाली चिया बोकेका प्रत्येक ट्रकको गुणस्तर परीक्षण हुनु पर्ने नियम लगाएको हो । त्यो नियम लागू गरेपछि यहाँका उद्योगीहरूलाई चियाको गुणस्तर परीक्षणका लागि कलकत्ताको खाद्य ल्याबमा पठाउनु पर्ने भयो ।  
त्यहाँबाट प्रोसिसङ गर्दा र परीक्षणको रिपोर्ट ल्याएर पानीटंकी कस्टममा बुझाउँदासम्म १५ दिनको समय लाग्ने भयो । 
साथै एक पटक चिया परीक्षण गराउँदा ५० हजार भारतीय रुपैयाँ अतिरिक्त खर्च भार पनि थप्ने भयो । वेयर हाउस र पार्किङ सुविधा नहुँदा लामो समयसम्म बाटोमै ट्रक राख्दा भारतीय पक्षले प्रति दिन ३ हजार भारतीय रुपैयाँ डिटेन्सन शुल्क समेत छुट्टै असुल गर्दा यहाँका उद्योगी थप मारमा पर्ने देखिन्छ । 
 

सम्बन्धित समाचार