हल्दिबारीका मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम
हल्दिबारी । हल्दिबारी गाउँपालिकाका मेलमिलापकर्ताहरूलाई ५ दिने पुनर्ताजगी तालिम दिइएको छ । गाउँपालिकाका ५ वटै वडाका मेलमिलापकर्ताहरू झापा जिल्लाका न्यायाधीशहरू अशोक बस्नेत, नवीन खडका, रामप्रसाद पौडेल, नगेन्द्र केशरी पोखरेल, तेजबहादुर थापा लगायतले प्रशिक्षण दिएका थिए ।
तालिमका सहभागीहरूलाई न्यायिक समितिमा आउने समस्याहरू, वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने, न्यायिक समिति, मेलमिलाप समितिको काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराएका थिए ।
मेलमिलापका आधारभूत सिद्धान्त, महत्त्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा फिराद लेखन, अदालतको काम लगायत विषयमा जानकारी गराइएको थियो।
हल्दिबारी गाउँपालिका उपाध्यक्ष एवं न्याय समिति संयोजक लक्ष्मी मैनालीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेन, ४ नम्बर वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, भागिरथा दाहाल, वडा सदस्यहरू सुरेन्द्र बाराकोटी, शान्ता गहतराज, अधिकृत राजन न्यौपाने लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रलाद सिलवालले गरेका थिए। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।