२०८३ बैशाख ३० गते , बुधबार

‘झापा स्पोर्टस् अवार्ड’ लागि उत्कृष्ट खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

sajilo news
झापा
२०८० चैत्र २२ गते , विहीबार
‘झापा स्पोर्टस् अवार्ड’ लागि उत्कृष्ट खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

झापा । पाँचौँ संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७९’ यही चैत २९ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाको आयोजना हुनेमा झापा स्पोर्टस् अवार्डको मनोनयनमा परेका खेल प्रतिभाको नाम सार्वजनिक गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर एनएसजेएफले मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभाको नाम सार्वजनिक गरेको हो ।

विभिन्न पाँच विधाका प्रत्येक विधामा तीन/तीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एक /एकजना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए ।  पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी रोशन मगर (आइटिएफ तेक्वान्दो), प्रारम्भ भण्डारी (पौडी) र अनन्त तामाङ (फुटबल), महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीमा तृषा जवेगू (बक्सिङ), अनुजा कुलुङ राई (कबड्डी) र सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस) का रहेका छन् ।

त्यस्तै, युवामा वर्ष उत्कृष्ट खेलाडी प्रारम्भ भण्डारी (पौडी), कृतिसरा अधिकारी (बुद्धिचाल) र योगिता काम्बाङ (आर्चरी), पिपल्स च्वाइस खेलाडीमा रुविना क्षेत्री (क्रिकेट), विनीता बुढाथोकी (भलिबल) र सुस्मिता राई (बक्सिङ) र वर्ष उत्कृष्ट प्रशिक्षकमा डम्बर लिम्बू (बक्सिङ), नवीन तामाङ (आइटिएफ तेक्वान्दो) र भूपेन्द्र निरौला (बुद्धिचाल) रहेका छन् ।

वर्ष खेलाडी पुरुष र महिलालाई जनही नगद एक लाख र ट्रफी, वर्ष खेलाडी युवालाई नगद २५ हजार र ट्रफी, पिपल्स च्वाइस खेलाडीलाई नगद २५ हजार र ट्रफी, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।

त्यस्तै, स्पेशल अचिभमेन्ट अवार्डका खेल प्रतिभालाई नगद २५ हजार र ट्रफी, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार र ट्रफी र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ५० हजार र ट्रफी प्रदान गरिनेछ । स्पेशल अचिभमेन्ट, उत्कृष्ट खेल पत्रकार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका प्रतिभाको नाम अवार्डको दिन घोषणा गरिनेछ । पिपल्स च्वाइस खेलाडीको विजेताको छिनोफानो भने एनएसजेएफ झापाको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङबाट गरिनेछ । अवार्ड वितरण कार्यक्रम बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । अवार्डमा २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई मञ्चले सहभागी गराएको कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार