जनप्रतिनिधिसँग दृष्टि विशेषज्ञ सङ्घको छलफल
दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशले स्थानीय निकायका पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशका अध्यक्ष अजितकुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सुनसरी र मोरङका विराटनगर, दुहबी, इनरुवा लगायत ९ वटा स्थानीय निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पङ्कज कुमार राय अधिकारीले स्वागत गरेका थिए ।
दृष्टि विशेषज्ञका तर्फबाट आँखा स्वास्थ्य सेवामा दृष्टि विशेषज्ञका योगदानका विषयमा अध्यक्ष ठाकुरले आफ्नो प्रस्तुति दिएका थिए । नेपालमा १५०० भन्दा बढी दृष्टि विशेषज्ञ वर्तमान अवस्थामा कार्यरत रहेको र रोजगारीको ३०% दृष्टि विशेषज्ञ विदेश पलायन भएको तथ्याङ्क प्रस्तुत गर्दै देशमै उनीहरूको योगदानको उच्च मूल्याङ्कन हुनुपर्नेमा जोड दिए ।
प्रत्येक गा.पा./न.पा.मा कम्तीमा पनि कूल जनसङ्ख्याको १२ प्रतिशत आँखाको बिरामीको प्रक्षेपणले पनि करिब चार हजार बिरामी एउटा गा.पा./ न.पा.मा भएको तथा उचित उपचारबाट वञ्चित हुनु परेको अध्यक्ष ठाकुरको भनाई छ । आँखाको उपचारमा खर्च भन्दा पनि यातायात र अन्य खर्च नै धेरै भएकाले नागरिकले उचित उपचार पाउन नसकेको अवस्थामा जनप्रतिनिधिले नागरिकको उपचारमा चासो दिनुपर्ने उनको धारणा छ ।
स्थानीय निकायमा भएको चस्मा पसलमा कस्ता जनशक्तिले चस्मा पसल सञ्चालन गरेको, कस्तो प्रकारको चस्मा उपभोक्तालाई बिक्री वितरण भइरहेको छ भन्ने विषयमा चासो दिन आग्रह गर्दै अनुगमन गर्न आग्रह गरिएको थियो । औषधी व्यवस्था विभागले चस्मा तथा कन्ट्याक्ट लेन्स लगायतलाई स्वास्थ्यका उपकरण अन्तरगत राखेको तथा यसको बिक्री वितरण विशेषज्ञबाट मात्र हुनुपर्ने स्पष्ट पारेको हुँदा यस्ता विषयमा स्थानीय तहले अनुगमन गर्नुपर्ने अध्यक्ष ठाकुरको भनाई छ ।
दृष्टि विशेषज्ञले विद्यालयमा आँखा कार्यक्रम प्रत्येक स्थानीय निकाय मार्फत चलाएर बाल अन्धोपन हटाउन टेवा पुग्ने तर्फ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई स्वास्थ्यका क्षेत्रका काम गर्न हौसला मिलेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् विराटनगर महानगरपालिका नागेश कोइरालाले दृष्टि विशेषज्ञहरू आँखा स्वास्थ्य सेवाका अभिन्न अङ्ग भएको भन्दै आगामी दिनहरूमा दृष्टि विशेषज्ञहरूसँग छलफल गरी सहकार्य गर्दै आँखा स्वास्थ्य सेवालाई अघि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल दृष्टि विशेषज्ञ संघ केन्द्रीय समितिका अध्यक्ष नीरजदेव जोशीले आँखा स्वास्थ्य सेवा नेपाल सरकारको प्राथमिकतामा नपरेको तथा यसले गर्दा निकट भविष्यमा आँखा स्वास्थ्य सेवाको सर्वसुलभतामा प्रश्न उठ्न सक्ने आशङ्का व्यक्त गरे । कार्यक्रममा गोल्छा आँखा अस्पतालका सञ्जीव यादव, सरबिन्द यादव लगायतले बोलेका थिए ।