बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीले उचाल्यो
सुनसरीको धरानमा सम्पन्न २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ ।एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यसअघि उसले १०औ संस्करणको उपाधि जितेको थियो ।
धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा मोरङ फुटबल संघलाई २–१ गोलले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको हो ।खेलको सातौँ मिनटमा एनआरटीका विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले रोशन रानाको पासमा गोल गरेका थिए ।
पहिलो हाफको अन्त्यतिर ४४औँ मिनेटमा मोरङका उमेश कार्कीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए । प्रतियोगिताको विजेता टोली एनआरटीले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता मोरङले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
आजको खेलको म्यान अफ दि म्याच एनआरटीका पदम भट्टराई घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको उकृष्ट खेलाडी घोषित हुँदै एनआरटीका सनम लिम्बुले २ लाख रुपैयाँ पुरस्कार पाए ।
बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पूजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।