२०८३ भाद्र ११ गते , विहीबार

भद्रपुरका साँवा दम्पतीलाई राष्ट्रिय युवा संघले बनाइदिए पक्की घर

sajilo news
झापा
२०८० चैत्र ३ गते , शनिबार
भद्रपुरका साँवा दम्पतीलाई राष्ट्रिय युवा संघले बनाइदिए पक्की घर

भद्रपुर । राष्ट्रिय युवा संघ भद्रपुरले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–५ गौरीशंकर टोलमा निर्माण सम्पन्न गरिएको घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

दयनीय अवस्थामा जीवन बिताइरहेका वृद्धवृद्धा रणबहादुर साँवा र राजकुमारी साँवालाई राष्ट्रिय युवा संघले घर निर्माण गरेर आजबाट बस्न मिल्ने गरी हस्तान्तरण गरेको हो । अत्यन्तै कष्टकर जीवन बिताइरहेको परिवारलाई राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीका अध्यक्ष दीपक बुढाथोकीको अगुवामा घर निर्माण गरेर हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले रिवन काटेर घर प्रवेश गराउँदै हस्तान्तरण गरेका हुन् ।

दुई वटा कोठा, शौचालय, खानेपानी र विद्युतको व्यवस्थापन गरेर घर हस्तान्तरण गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले विभिन्न दाताहरूको साथ सहयोगबाट घर निर्माण सम्पन्न भएको बताए । आर्थिक तथा सामग्रीहरूको सहयोग पायौँ, बुढाथोकीले भने – ‘अगुवाइ गर्दा सहयोग पाइने भएपछि साँवा दम्पतीको जमिनमा बस्न सकिने गरी घर निर्माण गरेर हस्तान्तरण गरेका हौँ । संघले गरिब असहाय तथा विपन्न परिवारको लागि सहयोग गर्दै आएको छ ।’

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय सचिव भण्डारीले सबैको दुखमा युवा संघ हाजिर हुने बताएका छन् । उनले आवास हस्तान्तरण गर्दै आगामी दिनहरूमा पनि यस प्रकारका सामाजिक काम गर्दै अघि बढ्न सुझाव दिएका छन् । समाज रूपान्तरणमा राष्ट्रिय युवा संघको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उनले साँवा दम्पतीको सपनाको घर निर्माण गर्न सफल भएकोमा सहयोगी सबैलाई धन्यवाद समेत दिएका छन् ।

जाडोमा चिसो नछेकिने र वर्खायममा पानी नछेक्ने घरमा बसेको देखेर युवा संघले सुरक्षित आवास निर्माण गरेको उनको भनाई छ । सामाजिक रुपमा दुखमा परेका परिवार, वृद्धवृद्धाहरुको दुखमा युवा संघ सधैंव उपस्थित हुने भण्डारीले प्रतिबद्धता जनाएका छन् ।

आवास हस्तान्तरणमा नेकपा एमालेका कोसी प्रदेश कमिटी सदस्य बसन्त बानियाँ, जिल्लाका उपसचिव असारु राजवंशी, भद्रपुरका अध्यक्ष ब्रह्मलाल ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।सहयोग रकम र सामग्रीहरूको समेत सार्वजनिक गरिएको कार्यक्रममा कोसी प्रदेश सभा सदस्य छवि चुँडाल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज राज लिम्बू, जिल्ला संयोजक फूर्वा लामा, पार्टीका नेताहरु, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार