मेचीनगरमा सिमल तरुलको व्यावसायिक उत्पादनमा चासो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थानीय रैथाने बाली उत्पादन र प्रवर्द्धनमा चासो दिँदै आएको छ । नगरपालिकाले यसअघि किसानलाई निःशुल्क तथा केही प्रतिशत अनुदानमा गहुँ, तोरी, उन्नत जातको धानको बिउ, मकैको बीउ, विभिन्न प्रजातिका नगदे तथा खाद्यान्न बालीको बिउ वितरण तथा प्राविधिक सहयोग पुर्याउदै आइरहेको छ ।
यसै क्रमलाई निरन्तरता दिँदै मेचीनगरले अहिले यी बालीसँगै सिमल तरुलको व्यावसायिक उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढ्दै गइरहेको छ । नगरपालिकाले यस अघि मेचीनगर ४ मा तरुल उत्सवको समेत आयोजना गर्दै स्थानीय उत्पादनलाई हौसला प्रदान गरिसकेको छ । सिमल तरुलको व्यावसायिक उत्पादनलाई थप प्रभावकारी बनाउँदै लैजान मेचीनगरले शनिबार विज्ञ बद्री ओझासहित जनप्रतिनिधि तथा सरोकारवाला किसानहरू बिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर परिसरमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेती, कृषि विज्ञ बद्री ओझा, सहकारी अभियन्ता रामचन्द्र उप्रेती, लक्ष्मीप्रसाद उप्रेती, मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, ५ का वडाध्यक्ष कनक कार्की, ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, ८ का वडाध्यक्ष गिरीराज धमला, ९ का वडाध्यक्ष कञ्चन तामाङ, ११ का वडाध्यक्ष रुद्र डाँगीलगायत विभिन्न संघसंस्था तथा कृषक समूहका कृषकहरूको सहभागिता रहेको थियो ।