मारुती र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
कोशी राजमार्गको धरान–धनकुटा खण्डस्थित धनकुटाको साँगुरीगढी–६ गर्जुवामा मारुती भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
भेडेटारबाट मूलघाटतर्फ आउँदै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल हिजो साँझ एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा साँगुरीगढी गाउँपालिका–६ का मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय दिवस तामाङको मृत्यु भएको छ । उनको उपचारको क्रममा सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।
घाइते हुनेमा मोटरसाइकल चालक साँगुरीगढी–६ का २२ वर्षीय अभिषेक लिम्बू र मारुती भ्यान चालक सोही ठाउँका ३० वर्षीय तुलबहादुर राई रहेका छन् । घाइते दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरी चौकी मूल घाटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।