भद्रपुर र हल्दिबारीमा सवारी दुर्घटना, छ जना घाइते
झापाको भद्रपुर र हल्दिबारीमा भएका सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । आइतबार दिउँसो सवा ४ बजेको समयमा भद्रपुर नगरपालिका- ८ सगरमाथा चोकमा भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्र १–०१–००२ च ६८९६ नम्बरको बलेरो गाडीले विपरीत दिशाबाट जाँदै गरेको मे १० प ४२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक भद्रपुर- ४ मन्त्रीचोक बस्ने ३० वर्षीया अनुपमा राजवंशी र पछाडि सवार सोही ठाउँ बस्ने ३१ वर्षीया कृष्ण राजवंशी घाइते भएका छन् । दुवै जना घाइतेहरूको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बलेरो चालक पाँचथर फिदिम- ८ घलेगाउँ बस्ने २९ वर्षीय उमेश गुरुङलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै आज दिउँसो ४: ४५ बजेको समयमा हल्दिबारी १ काजली चोकस्थित भित्री सडक खण्डमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे ८ प ८१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १० प ६५१५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा मे ८ प ८१२ नम्बरको मोटरसाइकल चालक कचनकवल- १ बस्ने १९ वर्षीय सुजन तामाङको टाउको, अनुहार र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । सोही मोटरसाइकलको पछाडि सवार गौरादह- १ बस्ने १८ वर्षीय पुकार कट्वालको दाहिने हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।
त्यस्तै मे १० प ६५१५ नम्बरको मोटरसाइकल चालक कचनकवल- ३ बस्ने २२ वर्षीय रोशन खतिवडाको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने २१ वर्षीय शिवुलाल कार्कीको टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । घाइते सबै जनालाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएको र दुवै मोटरसाइकल प्रहरी चौकी जलथलको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।