केराखेतीबाट कमाउँदै इलामे किसान

फिक्कल । इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन्। उनले पाँच सय बोटले आम्दानी दिन थालेको बताए।
‘मैले धान खेत मासेर एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी आउन थालिसकेको छ’, उनले भने, ‘प्रतिघरी ७५० रुपैयाँसम्ममा घरैबाट बिक्ने गरेको छ, धान खेतीभन्दा तेब्बर बढी आम्दानी हुँदोरहेछ।’ रोपेको नौ महिनादेखि एक वर्षमा पहिलो उत्पादन लिन सकिने भएकाले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी लिन सकिने उनले बताए।
माई–९ बोरुङका कृष्ण येक्तेनले पनि अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक केरा लगाएका छन्। राम्रै धान उत्पादन हुने करिब १० रोपनी जग्गामा उनले ५ सय बोट केरा लगाएका छन्। थोरै लगानी र कम मेहनतमै व्यावसायिक खेती गर्न सकिने भएकाले केराखेती शुरु गरेको उनले बताए।
‘अन्य खेतीजस्तो धेरै मेहनत र लगानीसमेत नपर्ने भएकाले व्यावसायिक केराखेती शुरु गरेको हुँ’, उनले भने, ‘बिक्री नहुने समस्या हुँदैन, व्यापारी घरमै आउँछन्, प्रतिघरी पाँच सयदेखि ७५० सम्म बगानबाटै बिक्री हुन्छ।’
केरीखेतीबाट वार्षिक एक लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउँदै उनले यो वर्ष खेती विस्तार गर्ने बताए। व्यावसायिक केरा खेती शुरु गरेपछि घर व्यवहार चलाउन नगद जुटाउनसमेत सहज भएको कर्णकुमारी साउनदेनले बताइन्।
‘मैले पाँच रोपनी जग्गामा दुई सय बोट केरा रोपेको छु, केहीले आम्दानीसमेत दिन थालेको छ’, उनले भनिन्, ‘मैले एक वर्षमा ७५ हजारभन्दा धेरै आम्दानी गरेको छु, यसले घरव्यवहार चलाउन सहज भएको छ।’
टुपेन्द्र, कृष्ण र कर्णकुमारी मात्र होइन, त्यहाँका करिब ७० घर किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन्। कम मेहनत र थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि जिल्लाको दक्षिणी क्षेत्रका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका छन्।
उनीहरूले व्यावसायिक केराखेतीबाट लाखौँ आम्दानी लिइरहेका छन्। माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, चुलाचुली गाउँपालिकाका तोरबारी साकफारालगायतका किसानले केराखेती गर्दै आएका छन्।
यहाँका किसानले चिनीचम्पा, काबेली, झाजी, भण्डारी, झपरी जातका केरा खेती गर्दै आएका छन्। किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन। घरैबाट सहजै बिक्री हुन्छ।