'पर्या-पर्यटन विकासको नाउँमा सामुदायिक वनले पक्की संरचना बनाए कारबाही गरिन्छ'
झापा । पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या-पर्यटन विकासको नाउँमा सामुदायिक वनले पक्की संरचना बनाए त्यस्ता वन समूहलाई कारबाही गर्ने बताएका छन् ।
पूर्वको फेवातालको रुपमा विकास तीव्र बनाइएको झापाको मेचीनगर-१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहअन्तरगत निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रको अवलोकन गर्ने क्रममा आइतबार मन्त्री उप्रेतीले उक्त कुरा बताएका हुन् ।
भौतिक संरचना सिमेन्टेड हुँदा बनभित्र वन्यजन्तु र चराचुरुङ्गीलाई अनुकूल नहुने, स्वच्छ वातावरण र बनभित्रको प्राकृतिक सुन्दरता ओझेलमा परेकाले वन परिसरभित्र सिमेन्टेड संरचना निर्माण गर्न निरुत्साहित गरेको मन्त्री उप्रेतीको भनाई थियो ।
सबै जिल्लाका वन कार्यालयलाई सचेत गराइसकेको समेत मन्त्री उप्रेतीले बताए । उनले आफ्नो मातहतका वन समितिलाई निर्देशन पालना नगरेको प्रमाणका आधारमा ती वन समितिलाई कारबाही गरिने जानकारी दिए ।
वन परिसरभित्र निर्माण गरिसकेका पक्की संरचनाका बारेमा पछि सोचौँला मन्त्री उप्रेतीले भने, तर-`नयाँ पक्की संरचना चैँ बनाइनु हुँदैन, बनाउन दिइनेछैन ।´ बनमा आफ्नै काठ छ । काठबाट निर्माण गरिएका संरचना प्राकृतिक, पर्यावरणसहित वन्यजन्तुको जगेर्ना हुने प्रस्ट्याउँदै मन्त्री उप्रेतीले भने, `पक्की संरचना वनभित्र त्यसै असुहाउँदो, पर्यावरणीय दृष्टिकोणले पनि प्राकृतिक मैत्री हुँदैन । त्यसैले कोशी प्रदेश सरकारले वनभित्र पक्की संरचना निर्माणमा निरुत्साहित गर्न लागेको हो ।´
अवलोकनका क्रममा हातेमालो सामुदायिक वन उपभोक्ता समुहअन्तरगतको निचाझोडा सिमसार पर्याय-पर्यटन क्षेत्रको विकासका लागि समूहले मन्त्री उप्रेतीलाई २ करोड रकमको बजेट माग पत्र हस्तान्तरण गरेको थियो । वन समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले मन्त्री उप्रेतीलाई उक्त बजेट माग पत्र हस्तान्तरण गरेका हुन् । सो क्रममा विकासको पर्खाइमा रहेको सम्भावना बोकेको पर्याय-पर्यावरण क्षेत्र रहेकाले तत्काल १ करोड बजेट दिन सकिने आश्वासन दिएका थिए । मन्त्री उप्रेतीसँग प्रदेश सांसद सबिना बजगाईँ, माओवादी केन्द्रका झापा जिल्ला इन्चार्ज राजु आचार्य, जिल्ला सदस्य खगेन्द्र सिग्देल, मेचीनगर-१४ इन्चार्ज अपूर्व डाँगी, १३ का अध्यक्ष पुरुषोत्तम सिग्देल, काङ्ग्रेसका क्षेत्रीय सभापति सन्तोष न्यौपाने, दुर्गाप्रसाद सापकोटा, पुष्प कार्की, एमालेका मोहन अधिकारी र बनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रमा हाल जलाशय निर्माण सुरु गरेको छ । कोशी प्रदेशको जलाधार विकास व्यवस्थापन इकाईको २५ लाखमा बजेटमा जलाशय निर्माण सुरु भएको हो । १ सय ४ मिटर लम्बाई, २७ मिटर चौडाइ र १५ फुट अग्लो जलाशय निर्माणका लागि २ वटा स्कारभेटरले प्रयोग गरिएको छ ।
उक्त जलाशय निर्माणले हातेमालो बनदेखि दक्षिणका कृषकलाई सिचाईको व्यवस्थापन, स्थानीय छिमेकी बनभित्र आगलागी हुँदा प्रयोग गर्न सकिने अध्यक्ष सिग्देलले बताए । पूर्वकै फेवातालको रुपमा उक्त जलाशयको विकास गर्ने नाउँकामा यात्रा गर्न-गराउन सकिनेछ ।
वडाध्यक्ष कृष्णराज सिग्देल नै सिमसारको परिकल्पनाकार १ किलोमिटर लम्बाई रहेको, कहिले पानी नसुक्ने प्राकृतिक मुहान भएकाले निचाझोडा सिमसारलाई पूर्वकै फेवातालको रुपमा विकास सुरु गरिएको सिमसार अवधारणा तथा योजनाकार संस्थापक अध्यक्ष कृष्णराज सिग्देलले बताए ।
अवधारणासहित पर्याय-पर्यटनको रूप तथा डिजाइन गर्दै सानो रकमबाट विकास सुरु गरिएको निचाझोडा सिमसारलाई भविष्यमा नमुना फेवातालको रुपमा विकास गर्न सकिने मेचीनगर-१३ का वडाध्यक्षसमेत रहेका सिग्देलको भनाई छ । फेवातालको निर्माणपछि देश तथा विदेशबाट पर्यटक भित्र्याउन सकिनेछ, वडाअध्यक्ष सिग्देलले भने,` विदेशका अन्य देशसँगै एसिया राष्ट्रहरू भारत, बङ्गलादेश, भुटानलगायतका देशका पर्यटकलाई आकर्षक गर्ने योजना पनि अघि सार्नेछौ ।´
स्थानीय सरकार वडा कार्यालयले पटक पटक गरेर २७ लाख, मेचीनगर नगरपालिकाबाट फलामे पुलसहित १५ लाख बजेट विनियोजन गरेको छ भने अन्य बजेट वनको आन्तरिक श्रोतबाट व्यवस्थापन गरेको छ । बनले आन्तरिक श्रोतबाट ६ वटा गोलघर निर्माणसमेत गरेको छ । अन्य घर निर्माणाधीन अवस्थामा छ ।
विकास निर्माणअन्तर्गत आगामी प्रदेश सरकारको बजेट २५ लाख पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्ने, ३ वर्षे क्रमगत २२ लाख बजेटबाट सिमसारको उत्तरपट्टि र पश्चिममा पोखरी निर्माण गर्ने तयारी गरिएको अध्यक्ष सिग्देलको भनाई छ । स्थानीय निकाय, जिल्ला वनसँग समन्वय गरेर भविष्य `मिनी-जु´ को व्यवस्थापन गर्ने योजना रहेको छ ।
३९० हेक्टरमध्ये ३२ बिगाहा खाली जमिनमा फैलिएको सिमसार खुल्ला र घमाइलो ठाउँ दैनिक जीवनयापनलाई सहज बनाउन प्रयोग गरिएका ढिक्की, जातो, ठेकीलगायत लोपबस्तु संरक्षण गर्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ्ग निर्माण गर्ने, स्थानीय संस्कृतिलाई जगेर्ना गर्न विभिन्न सम्प्रदायका मठमन्दिर गुम्बा एवम् धार्मिक संरचनाको निर्माण गर्ने साथै एग्रो टुरिजमको रुपमा विकास गर्ने भावी योजना रहेको छ ।