२०८३ भाद्र १० गते , बुधबार

मेचीनगरमा सशस्त्रको खुकुरी प्रहार प्रकरण : घट्नाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग

sajilo news
झापा
२०८० फाल्गुन २० गते , आईतबार
मेचीनगरमा सशस्त्रको खुकुरी प्रहार प्रकरण : घट्नाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग

झापा । झापाको मेचीनगरमा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको घट्नाको अविलम्ब छानवीन गरी सत्यतथ्य सार्वजनिक नेकपा (एकिकृत समाजवादी) निकट युवा संघ नेपालले माग गरेको छ ।

भन्सार छलीका सामान समात्ने क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना स्थानीय घाइते भएको घटनाप्रति युवा संघ नेपाल झापा जिल्ला कमिटीले आइतबार विज्ञप्तिजारी गर्दै गम्भीर ध्यानाकर्षण समाजमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षाका निम्ति राज्यद्वारा खटाइएका अधिकारीद्वारा सर्वसाधारण माथि ज्यानै जान सक्ने गरि भएको अन्धाधुन खुकुरी प्रहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
विज्ञप्तिमा भनिएको छ, खुकुरी प्रहारले विधिको शासनप्रति नागरिकमा अबिश्वास पैदा हुनुको साथै डरत्रास र भयको वातावरण सृजना हुने खतरा रहेकाले उक्त घट्नाको अविलम्ब छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी माथि कारवाही गरी कानूनी राज्यको प्रत्याभूती पुर्नस्थापित गर्न सम्पूर्ण सरोकारवाला निकाय समक्ष युवा संघ नेपाल जोडदार माग गर्दछ ।  साथै घाइते बिरामीहरुको उपचारमा कुनै कमि हुन नदिन र उनीहरुले पाएको शारिरिक तथा मानसिक यातनाको उचित क्षतिपुर्तिसहित न्याय दिलाउन जिल्ला कमिटीका अध्यक्ष सुनिल थापा र सचिव प्रतिक राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

शुक्रबार साँझ मेचीनगर नगरपालिका-७ स्थित गैरीगाउँ नाकाबाट भन्सार छलेका सामान भित्रिरहेको सूचना प्राप्त भएसँगै सशस्त्र प्रहरी बल नेपाल बिओपी सतिघट्टाको टोली त्यहाँ पुगेका थिए । सशस्त्र प्रहरी निरीक्षक गणेश श्रेष्ठ नेतृत्वको टोलीले तस्करीको सामान समात्ने क्रममा स्थानीय र तस्करसँग दोहोरो झड्प भएको थियो । घटनास्थलमा स्थानीय र तस्कर समूहले घरेलु हातहतियार बोकेर सशस्त्रमाथि आक्रमण गर्न खोजेका थिए । उनीहरुको खुकुरी प्रहारबाट गाडी चालक सशस्त्र प्रहरी सहायक हवल्दार ३५ बर्षीय दुर्गाचन्द्र बस्नेत घाइते भए । बस्नेतको बाँया हातको औँलामा चोट लागेको छ ।

त्यसपछि बस्नेतले प्रतिरक्षामा उनीहरुले बोकेको खुकुरी खोसेर अन्धाधुन प्रहार गरे । उनको खुकुरी प्रहारबाट मेचीनगर ७ का १८ बर्षीय दिपक चौधरी,  २४ बर्षीया दिपा सरदार, ३५ बर्षीय हरी चौधरी, १७ बर्षीय बिशेषसिंह राजवंशी, १८ बर्षीय मिलन चापागाई र भारतीय नागरिक २२ बर्षीय आनन्द यादव घाइते भएका थिए । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गरिएको थियो । घटनाको भोलिपल्ट झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोली अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्था बुझेका थिए ।  उता सशस्त्रको ज्यादतीविरुद्ध गैरीगाउँबासीहरु शनिबार काँकडभिट्टामा विरोध प्रदर्शन गरेका थिए । 
 

सम्बन्धित समाचार