कमल गाउँपालिकाले उचाल्यो अन्तरपालिका कर्मचारी फुटबलको उपाधि
कमल गाउँपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कमल गाउँपालिकाका ९ का बाबुराम हस्दाको ह्याट्रिकको मद्दतले बिर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै उपाधि विजेता बनेको हो । खेलको पहिलो हाफमा कमल गाउँपालिकाका ९ का बाबुरामले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा बिर्तामोडका ७ का खेलाडी चुनूँ सोरेनले गोल फर्काउन सफल भए । तर, दोस्रो हाफमा कमलका बाबुरामले थप २ गोल गरेपछि कमल बिर्तामोडसँग २ गोल अन्तर पराजित भएको हो ।
उपाधिसँगै कमलले नगद ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको बिर्तामोड नगरपालिकाले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा शिवसताक्षीका सचिन श्रेष्ठ घोषित भए । उत्कृष्ट मिडफिल्डर बिर्तामोडका प्रभास थापा, उत्कृष्ट गोलरक्षक कमलका सागर यादव, सर्वोत्कृष्ट खेलाडी कमलका बाबुराम हस्दा र उत्कृष्ट डिफेन्डर कमलका विदुर लिम्बू घोषित भए । उनीहरूले जनही ५ हजारसहित ट्रफी प्राप्त गरे ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई र शिवसताक्षी नगरपालिका नगर प्रमुख मेगाहाङ थोप्राले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिवतसाक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए । प्रतियोगिता फागुन ४ गतेदेखि झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको थियो ।