अर्जुनकुमार मैनालीले भने-मलाई काँग्रेस समर्थकहरूले पनि भोट दिन्छन्
बिर्तामोड । पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट बिर्तामोड उद्योग वाणिज्य संघमा अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीले आफूलाई काँग्रेस समर्थकहरूले समेत सहयोग गर्ने दाबी गरेका छन् ।
गत निर्वाचनमा मैनालीले उम्मेदवारी दिएको संयुक्त प्यानलका केहीबाहेक अरू सबै उम्मेदवारले निर्वाचन हार्दा उनले महासचिवमा विजय हासिल गरेका छन् । त्यस निर्वाचनमा मैनालीलाई काँग्रेस समर्थक व्यवसायीहरूले पनि सघाएको दाबी गरिएको थियो । यस पटक पनि आफूलाई काँग्रेससहित सबै दलहरूले सहयोग गर्ने उनले बताए ।
निर्वाचनको अघिल्लो दिन पत्रकारहरूसँग कुराकानी गर्दै उम्मेदवार मैनालीले आफू कुनै विशेष दलको उम्मेदवार नभई स्वतन्त्र प्यानलका तर्फबाट उम्मेदवारी दिएकाले सबैले मतदान गरेर सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आफ्ना प्रतिस्पर्धीलाई कमजोर आँकेका छन् ।‘ मेरो प्रतिस्पर्धीको कमजोरी बुझेको छु , विगतका गतिविधि मलाई थाहा छ’ उनले भने,‘त्यसैले मलाई चुनाव जित्न गाह्रो छैन । ’ आफ्ना प्रतिस्पर्धी लोकतान्त्रिक व्यावसायिक प्यानलका उम्मेदवार गैर व्यवसायी भएको उनको आरोप छ ।