बिर्तामोडको बुधबारे हटियामा डोजर चलेपछि शिवाकोटी र न्यौपाने भागेको त्यो दुखद क्षण
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको लागि मत माग्दै उम्मेदवारहरू आइरहँदा बुधवारे हटियाबाट उठीबास लगाइएका व्यवसायीहरूको मन पोलिरहेको छ । किनकि, त्यहाँबाट विस्थापित हुँदा उनीहरूले करोडौँको क्षति बेहोर्नु परेको थियो ।
त्यो क्षति कसको कारणले भएको हो भन्ने कुराले यति बेला उनीहरूको मन पोलिरहेको छ । वाणिज्य संघको निर्वाचनमा उठेका दुई वटा प्यानलमध्ये कसले डुबायो र कसले सघायो भनेर उनीहरूले विश्लेषण गर्दै त्यही अनुसार यो निर्वाचनमा मतदान गरेर ठेगान लगाउने योजनामा छन् । ‘हामीहरूको घाउ आलै छ उहाँहरू भोट माग्न आउनुहुन्छ उहाँहरूलाई देखेर मन अझ दुख्छ ’ बुधवारे हटियाबाट विस्थापित व्यवसायी घनश्याम अधिकारी भन्छन् । उनका अनुसार बेलैमा उठ्न दिएको भए ठुलो क्षति बेहोर्नु पर्दैनथ्यो । अधिकारीका अनुसार वाणिज्य संघको नेतृत्वले गरेको कमजोरीलाई हेर्दा संघ नै खारेज गर्नुपर्छ भन्ने लागेको छ ।
बिर्तामोड नगरपालिकाले पटक पटक गरी ६ महिनाको म्याद बुधवारे हटिया खाली गर्न व्यवसायीहरूलाई दिएको थियो । तर, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष तथा हालका अध्यक्षका उम्मेदवार राजु न्यौपानेले व्यवसायीहरूलाई उठ्न नदिएको व्यवसायीहरूको भनाई छ । नगरपालिकासँग शिवाकोटी र न्यौपानेले बुधबारेका व्यापारीहरू प्रयोग गरेर पूर्वाग्रह साँधेका थिए । व्यापारीहरू भन्छन्, नगरपालिकाको सूचना अनुसार हामीलाई सामान उठाउन नदिएर ठुलो क्षति गराएको त्यहाँका पीडित व्यवसायीहरूको बुझाई छ ।
बुधवारेको देवी हाट बजार खाली गर्ने नीतिगत निर्णयलाई नगरपालिकाले प्रक्रियागत ढङ्गले अघि बढाएको थियो । पटक–पटक सार्वजनिक सूचना जारीसँगै माइकिङसमेत गरेको थियो । तर, वाणिज्य संघका अध्यक्ष शिवाकोटी र हालका अध्यक्ष पदका उम्मेदवार न्यौपानेले हट्न नदिई करिब एक सय चालिस जना व्यवसायीहरूको करोडौँको क्षति गराए । ती दुई जनाकै उक्साहटमा लागेर ठाउँ खाली नगर्दा गत जेठ ८ गते नगरपालिकाले व्यवसायीहरूको घर टहरामाथि डोजर चलाउनु पर्यो ।
आफ्ना टहरामाथि डोजर चलाइदा व्यवसायीहरूमा रुवाबासी नै चलेको थियो । आखिर यो सबै बिल्लिबाठ तिनै व्यापारी नेताको कारणले भएको भन्ने आफूहरूको बुझाई रहेको अर्का विस्थापित कृष्ण अधिकारी बताउँछन् । ‘रोकेर व्यवसायीहरूलाई जुन तरिकाले हटाइयो, बिल्लिबाठ गराइयो त्यो राम्रो भएन ’ उनले गुनासो पोखे । व्यवसायीहरू राजनीतिक कार्यकर्ता नभएको भन्दै उनले असल काम गरेको उम्मेदवारलाई यस पटक मतदान गर्ने बताएका छन् ।
त्यस्तै बुधवारे हटियाका अर्का व्यवसायी राजन काफ्ले ती दुखद दिन सम्झँदै भन्छन्, ‘बिर्तामोड बुधबारे हटिया प्रकरणमा वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार न्यौपानेले व्यापारीलाई न रोक्न सके, न त समयमा निस्किन दिए । उनीहरूको मूर्खतापूर्ण व्यवहारका कारण हामीले धेरै नै दुःख पायौँ । समयमा जान दिएको भए आफ्नो सामान उठाउन सक्थ्यौँ । डोजर आएपछि शिवाकोटी र न्यौपाने दुवै जना भागे । हाम्रो बेहाल भयो । नगरपालिकाले मार्केट निर्माणको ठाउँ खोज्दा पनि शिवाकोटी र न्यौपानेले नजानु भने । अहिले उनीहरूले अर्जुन मैनालीलाई दोष देखाइरहेका छन् । मैनालीकै सहयोगमा हामी अहिले नयाँ मार्केट बनाएर बसेका छौँ । हामीलाई झुटो आशा देखाउने न्यौपाने वाणिज्य सङ्घमा उठेर फेरि पनि व्यापारीलाई नै धोका दिने त होलान् । नगरपालिकाले बनाउने नयाँ बिल्डिङमा हामीले व्यापार गर्न पाउनेछौ भन्ने पूर्ण आशा गरेका छौँ ।’
बुधवारे हटियाबाट विस्थापित व्यवसायीहरूलाई पुनर्स्थापित गर्न वाणिज्य संघका महासचिव तथा स्वतन्त्र व्यावसायिक प्यानलका अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीले सहयोग गरेका थिए । उनीहरूले मार्केट निर्माण समेत मैनालीले आवश्यक सहयोग गरेको बताएका छन् ।
पुरानो बजारको नजिकै उत्तर पूर्वमा नयाँ बुधबारे बजार निर्माण गर्नका लागि मैनालीले १ सय बोरा सिमेन्ट उपलब्ध गराएको व्यवसायी घनश्याम अधिकारीले बताए । नगरपालिकाले खाली गराउनुभन्दा एक साताअघि बुधवारे हटियाका व्यवसायीहरूलाई सिटी सेन्टरमा सार्ने पहल गरिएको थियो । ‘सिटी सेन्टरका डेढ सय वटा सटर ३५ सयदेखि ५ हजारसम्म मासिक भाडा तिर्ने गरी बुधवारे हटियाका व्यवसायीहरूलाई सार्ने निर्णय भइसकेको थियो’ वाणिज्य संघका महासचिव मैनालीले स्मरण गर्दै भने, ‘सिटी सेन्टरबाट चिल्ड्रेन पार्क हटाउने र व्यवसायीहरूले एक लाख रुपैयाँ धरौटी दिने सहमतिसमेत भइसकेको थियो ।’ वाणिज्य संघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले उठ्न नदिएर व्यवसायीहरूको ठुलो क्षति गराएको उनको पनि ठम्याई छ । त्यसअघि पनि मिटर बक्सको कुरालाई लिएर सानो मुद्दामा ठुलो राजनीति गरेको मैनालीको बुझाई छ ।
टहरा खाली भएको त्यस क्षेत्रमा बहुतले व्यावसायिक भवन बनाउने योजना रहेको छ । टहरा भत्काइदिएपछि बिचल्लीमा परेका बिर्तामोड बुधबारे हटियाका व्यवसायीहरू तीन ठाउँमा मार्केट निर्माण गरेर व्यापार गरिरहेका छन् । पुरानो बजारको नजिकै उत्तर पूर्वमा करिब डेढ करोड रुपैयाँको लागतमा निर्माण गरिएको नयाँ बुधबारे बजारमा ६० जना व्यवसायीहरूले पसल सञ्चालन गरेका छन् । त्यस्तै बुधवारे हटियाबाट विस्थापित केही व्यवसायीहरूले कनकाई हस्पिटलको दक्षिण र मनमोहन हस्पिटलको पूर्वपट्टि ४४ वटा सटर भाडामा लिई पसल खोलेका छन् भने पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको ‘हाम्रो बजार’ मा ४६ जना व्यवसायी सरेका छन् ।
वाणिज्य संघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षको अराजक गतिविधि र घुसपैठका कारण बुधवारे हटियाका व्यवसायीहरूले दुःख पाएको स्मरण अझै ताजै छ, आम व्यवसायी भन्छन् । वाणिज्य संघका अध्यक्ष शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले २०७८ साल बैशाख ९ गते नगरपालिकामा बसेको बैठकमा देवीहाट बजार खाली गर्ने सहमति गरी हस्ताक्षर गरेका थिए ।