हात्ती प्रभावित क्षेत्रको पदयात्रामा निस्किएका मुख्यमन्त्री कार्कीलाई कनकाई नगरको ध्यानाकर्षण

(चन्द्र बस्नेत) कनकाई । हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गरेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कनकाई नगरपालिकामा स्वागत गर्दै ध्यानाकर्षण गराइएको छ। हात्ती प्रभावित जिल्लाहरूको २ सय ४३ किलोमिटरको पदयात्रामा निस्किएका मुख्यमन्त्री कार्की, पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती , पर्यटन वन तथा वातावरण सचिव विशाल घिमिरेलाई कनकाईको उत्तरी भेगमा बर्सेनि हात्तीका कारण जनधनको क्षति हुने गरेको भन्दै त्यसको न्यूनीकरण र रोकथामका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा नगर प्रमुख पोखरेलले मुख्यमन्त्री सहित पदयात्रामा सँगै हिँड्दै कनकाई हात्ती प्रभावित क्षेत्र र यहाँको अन्य समस्या चुरेको संरक्षण, पर्यापर्याटन विकास तथा प्रवर्धन, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्थापन , नदीनाला नियन्त्रणको बारेमा जानकारी गराएका थिए । कनकाई नगरपालिका-१ स्थित प्रजापति सामुदायिक वन उत्तरमा रहेको पर्यटकीय स्थल खानेपानी ट्याङ्की परिसरमा भएको एक कार्यक्रमकाबिच नगर प्रमुख पोखरेल, प्रजापति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मातृका प्रसाद पोखरेल, कनकाई वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल, वन समूहका सचिव कनकाई वडा १ न वडा सदस्य हरिकुमार राई, निर्मला खड्का , सङ्गीता ल्वागुन , दलबहादुर थापा, विभिन्न संघ संस्था टोल तथा वन समूहका पदाधिकारी लगायतले कोशी प्रदेशका मन्त्रीहरूलाई ध्यानाकर्षण गराउँदै सुझाव समेत राखेका थिए ।
बुधबार हिजो झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट मुख्यमन्त्री कार्कीले हात्ती प्रभावित क्षेत्रमा पदयात्रा गरेका थिए । जीव र जनावर, जङ्गल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर हात्ती आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा गरिरहेको जनाइएको छ । आजको पदयात्रा झापाको उत्तरी क्षेत्रदेखि इलामको दक्षिणी क्षेत्र चुलाचुलीसम्म केन्द्रित रहेको थियो।