२०८१ आश्विन १८ गते , शुक्रबार

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी

sajilo news
रासस
२०८० फाल्गुन १० गते , विहीबार
तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी

बेइजिङ । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ । अधिकारीहरूले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम शुक्रबार छदेखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने सामाजिक सञ्जालमा बताएको छ ।

सरकारी समाचार समिति सिन्हृवाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आहृवान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ ।

बुधबार तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ । मानिसहरूले बिहान उठ्दा राजधानी सेतो रङले ढाकिएको देखेका थिए । शहरका राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् । नगरपालिकाका अधिकारीहरूले केही उपनगरीय क्षेत्रमा चार दशमलव एक सेन्टिमिटरसम्म हिमापात भएको बताएका छन् । उनीहरूले हिउँ परेका सडकहरूमा चेतावनी जारी गरेका छन् ।

‘आफ्नो भ्रमण कम गर्नुहोस्, सार्वजनिक बस र सबवेको प्रयोग गर्नुहोस् र आफ्ना कारहरूलाई विस्तारै चलाउनुहोस्, सुरक्षामा ध्यान दिनुहोस्’, सहर सरकारले मंगलबार साँझ अनलाइन विज्ञप्तिमा बासिन्दालाई सिफारिश गर्दै भनेको छ । रासस/एएफपी ।

सम्बन्धित समाचार