१२ वर्षपछि बहुप्रतिक्षित झापाको बिरिङ्ग पुलले पायो पूर्णता
झापा । देशकै सबै भन्दा जेठो हुलाकी सडकमा वर्षौँ पछि पुल निर्माण हुँदा दक्षिणी झापामा आवतजावत वृद्धि भएको छ । कहिले पुल बन्छ भन्ने स्थानीयको सपना अब भने पुरा भएको छ । पुल नहुँदा सधैँ जोखिम यात्रा गर्नुपर्ने बाध्यता बल्ल समाप्त भएको भन्दै स्थानीय बासिन्दा खुसी बनेका छन् ।
बिरिङ्ग खोलाले झापाको बाह्रदशी र झापा गाउँपालिकालाई छुट्याएको छ । नजिकै रहेका जिल्लाको पुरानो झापा बजार र राजगढ बजारसम्म पुग्न समस्या हुन्थ्यो । पुल बनेपछि यात्रु देखि अहिले बिरामीलाई समेत धेरै सुविधा भएको स्थानीय अगुवा मञ्जु सुब्बाले बताइन् ।
२०६८ साल जेठ १३ गते लामा मैनाचुली जेभीले १५ करोड ५० लाखमा निर्माणको ठेक्का लिएको विरीङ पुल हालै आएर पूर्णरुपमा निर्माण सकिएको छ । पुल निर्माण र हुलाकी सडकले दक्षिणी झापाको बजारको अवस्था समेत फेरिएको छ । झापा र बाह्रदशी गाउँपालिकाबीचमा रहेको विरीङ्ग खोलाको पुल हो यो । १२ वर्ष पछि निर्माण भएको यो पुलले वर्षौँको सास्ती अन्त्य गरेको छ ।