२०८१ श्रावण ३ गते , विहीबार

कैलालीमा ४ सय गाईगोरुका कंकाल फेला

sajilo news
पत्रपत्रिका
२०८० फाल्गुन १० गते , विहीबार
कैलालीमा ४ सय गाईगोरुका कंकाल फेला

कैलालीको गोदावरी नगरपालिका–९ को लक्ष्मी महिला सामुदायिक वनमा चार सयभन्दा बढी गाईगोरुका कंकाल फेला परेका छन् । सामुदायिक वनभित्रको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा चार सय बढी गाईगोरुका कंकाल फेला परेका हुन् । 

स्थानीयको खेतीपाती नोक्सान गरेको भन्दै वडाध्यक्ष रामलाल रानाको रहोबरमा गत साउन २ गते बसेको बैठकले लक्ष्मी महिला सामुदायिक वनभित्र पशुचौपाया राख्ने निर्णय गरेको थियो । सामुदायिक वनभित्र तारबार लगाएर राखिएका पाँच सयभन्दा बढी चौपायामध्ये चार सय बढी मरेका हुन् । सामुदायिक वनमा तारबार गरेर छाडा पशुचौपाया राख्ने र हरेक घरबाट महिनामा एक सय रुपैयाँ उठाएर हेरालु राख्ने निर्णय भएको थियो । 

लक्ष्मी सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट एक सय रुपैयाँ संकलन गरेर ६ जना हेरालुसमेत राखिएको जानकारी दिइन् । मासिक आठ हजार तलब दिने गरी आठ जना हेरालु राखेका थियौं । ती पशुलाई चिसोमा बस्ने ओत र खाना नभएपछि मर्न थालेका हुन्’, उनले भनिन् ।

चार सय बढी चौपाया मरेको खबरपछि वडाध्यक्ष राना आत्तिएका छन् । उनले आफूलाई पशुचौपाया मरेका बारे कसैले जानकारी नगराएको बताए । भदौदेखि मर्न थालेका चौपाया माघसम्म निरन्तर मर्ने क्रम नरोकिँदा पनि वडाध्यक्ष रानाले आफूलाई कुनै जानकारी नै नभएको बताए । 

वडा नम्बर ९ को कार्यालय र कान्जी हाउस नदीको वारि–पारि छ । वडा कार्यालयमा एक जना पशु स्वास्थ्यकर्मी पनि छन् । हेरालुले गाई मरिरहेको खबर गाउँभरि फैलाएको स्थानीय बताउँछन् । ‘भदौदेखि नै कान्जी हाउसका गाईहरू मर्न थालेका छन् भन्ने सुनेको हुँ’, स्थानीय ७३ वर्षका डिल्लीसिंह खत्रीले भने ।

वडा कार्यालयको लापरवाहीकै कारण पशु चौपाया मरेको स्थानीयको आरोप छ । वडा कार्यालयका पशु स्वास्थ्यकर्मी रोशन पन्तले पनि कान्जी हाउसका पशु मरेको कुरा आफूलाई थाहा नभएको बताए । वडा कार्यालयको भवनमै रहेको पशुपन्छी उपचार केन्द्रबाट कान्जीहाउस बढीमा पाँच सय मिटरको दूरीमा छ । स्थानीय  विराज विष्टले कान्जी हाउसमा पशुचौपाया हुलेर राखेको र तिनको उपचार, खाना र ओतको ब्यवस्था नगरिएकाले गौहत्या भएको आरोप लगाए ।

‘कान्जी हाउसको सबै जिम्मेवारी नगरपालिका र वडाको हो । अहिले वडाका कसैले पनि हामीलाई थाहा छैन भनेर पन्छिरहेका छन् । यो सुनियोजित रूपमा गरिएको गौहत्या हो’, विष्टले भने । सामुदायिक वनमा २/३ कठ्ठामा तारबार लगाइएको छ । त्यसभित्र पाँच सयभन्दा बढी पशुचौपाया राखिएको थियो । त्यसमध्ये चार सय मरिसकेका छन् । मरेका केही पशुचौपाया तारबारभन्दा बाहिर यत्रतत्र फालिएका छन् भने आधाभन्दा बढी तारबारभित्रै छन् ।

तारबारभित्र अहिले पनि एक सय २० गाईगोरु राखिएका छन् । ती गाईगोरु मरेका गाई गोरुको सिनो वरिपरि बस्न बाध्य छन् । भदौबाट मर्न थालेका पशुचौपाया माघसम्म लगातार मरेको हेरालु नरबहादुर बोहराले बताए । ‘दानापानी भएन । चिसोमा ओत लाग्ने ठाउँ पनि भएन । शरीरमा फोकाफोका पनि आएका छन् । त्यसपछि चौयापा मर्न थाले’, उनले भने । कात्तिक १५ गतेदेखि हेरालुका रूपमा काम गर्न थालेका बोहराले सबैभन्दा बढी गाईगोरु माघमा मरेको बताए । ‘माघमा चिसो धेरै भयो । चरन क्षेत्र पनि सुक्खा बगरजस्तै छ । खानेकुरा पनि केही भएन’, उनले भने । 

उनका अनुसार हिउँदको कठ्यांग्रिँदो चिसोमा पशुचौपाया खुला आकाशमै राखिएका थिए भने खानाका लागि कुनै व्यवस्था नै गरिएको थिएन । आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

सम्बन्धित समाचार