२०८१ बैशाख ७ गते , शुक्रबार

३२ महिना साउदीको जेल बसेर दिनेश घर फर्किएपछि....

sajilo news
पत्रपत्रिका
२०८० फाल्गुन ८ गते , मंगलबार
३२ महिना साउदीको जेल बसेर दिनेश घर फर्किएपछि....

धनकुटा । ३२ महिना साउदीको जेलमा बिताएका चौबिसे गाउँपालिका–४ फलामेटारका दिनेश कार्की आइतबार घरको आँगन टेक्दा भावुक बने। घरको दैलो छेवैमा बरन्डाको बेञ्चमा बसेका बुवा गणेशबहादुर कार्कीलाई देख्नेबित्तिकै गहभरी आँसु बनाए। शारीरिक रूपमा अशक्त बुवासँग भेट्दा उनीसँग बोल्ने शब्द थिएन। बुवाको खुट्टा दुई हातले समाउँदै ढोग गरे। बुवाले पनि दिनेशको टाउकोमा हात राख्दै आशीर्वाद दिए।  बाउ छोराको यो दृश्य देख्दा नजिकै रहेकी आमा दुर्गाकुमारी कार्कीका आँखा रसाए। छोरा दिनेशलाई हेर्दै उनी भावुक बनिन्। तर, जेलमा रहेको छोरा आँखै अगाडि देख्दा भावुकसँगै खुसी थिइन्।

दिनेश आइपुगेको खबर गाउँभरि फैलिएपछि उनका साथीभाइ, छरछिमेक सबै दिनेशको घरमा भेला भएका थिए। दिनेशलाई घरका सदस्य, छरछिमेक तथा साथीभाइहरूले हात मिलाउँदै खादा लगाएर स्वागत गरेका थिए।  दिनेश र उनको परिवारबीचको भेटघाट झन्डै आठ वर्षपछिको थियो। वैदेशिक रोजगारीको सिलसिलामा आठ वर्षअघि साउदी पुगेका दिनेश क्षतिपूर्ति बापतको जरिवाना रकम तिर्न नसक्दा पछिल्लो ३२ महिना जेलमा बिताएका थिए। 

स्थानीय छिमेकी महेन्द्र न्यौपानेको अगुवाइमा आर्थिक सहयोग संकलन अभियानमार्फत जुटाएको रकमले क्षतिपूर्तिबापत जरिवाना रकम तिरेपछि जेलमुक्त हुँदै केही दिनअघि उनी नेपाल फर्किएका  थिए। आइतबार उनी छिमेकी महेन्द्र न्यौपानेसहितको टोलीसँग फलामेटारमा रहेको घर आइपुगेका थिए। 

‘छोरा कहिले फर्किएला भनेर बाटो हेर्दै बसेकी थिएँ आज आँखै अगाडि छोरा देख्दा खुसी लागेको छ’, आमा दुर्गाकुमारी कार्कीले बताइन्। छोराछोरीको माया आमालाई कति हुन्छ, आमाको मनभित्र छँदै छ, तर सबैको सहयोगले छोरा घर फर्किंदा त्योभन्दा ठूलो खुसी केही नहुने उनले बताइन्। एक वर्षभन्दा बढी छोरासँग सम्पर्क थिएन। किन टाढियो भनेर मनमा सधैं खुल्दुली भइरहन्थ्यो। पछि छिमेकी भाइ महेन्द्र न्यौपानेले फोनमा कुरा गराइदिँदा सबै कुरा थाहा भयो। उनले भनिन्, ‘छोरा कतिबेला घर आइपुग्ला भन्ने प्रतिक्षा भइरहन्थ्यो।’ 

कार्कीको घर चौबिसे गाउँपालिका–४ स्थित फलामेटारको तमोर किनारमा छ। उनको घरमा अहिले बुवा गणेशबहादुर कार्की र आमा दुर्गाकुमारी कार्की मात्रै बस्छन्। बुवा गणेशबहादुर शारीरिक रूपमा अशक्त छन्। १५ वर्षअघि लडेको कारण सामान्य तरिकाले हिँडडुल गर्न सक्दैनन्। कार्कीका तीन दाजु भाइ दिनेश कान्छा छोरा हुन्। दिनेशका जेठा दाइ उमेश घरमा छन्। भने माइला दाइ विदेशमा छन्। घरसहित १५ रोपनी जग्गा छ। उब्जाउ खेत तमोर नदीको बाढीले पुरिदिएको छ। 

वैदेशिक रोजगारीको सिलसिलामा साउदीको अल हवाला फर ट्रेनिङ एन्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रूपमा काम गर्न ८ वर्ष अघि पुगेका थिए। २ वर्ष काम गरेपछि पनि कम्पनिले श्रम सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि उनी बाहिरै अवैध रूपमा काम गर्न थाले। बाहिर काम गर्न थालेको २ वर्ष भइसकेको थियो। तर, पछिल्लो ३२ महिना अघि कामको सिलसिलामा सवारीसाधन दुर्घटना भएपछि त्यहाँँको सुरक्षाकर्मीबाट पक्राउ परे। दिनेशका अनुसारसँग ड्राइभिङ अनुमति पत्रलगायत सबै काजगात भए पनि अवैध रूपमा बसेको कारण कागजातले काम दिएन। त्यहाँँको प्रशासनले ५७ हजार रियाल क्षतिपूर्ति बापतको जरिवाना तोकेको थियो। जेल परेको ६ महिनापछि गाउँकै स्थानीय दाइ महेन्द्र न्यौपानेसँग सम्र्पक भयो।

महेन्द्र दाइलाई क्षतिपूर्ति तिर्नु पर्नेलगायत सबै कुरा सुनाए। कुराकानीका क्रममा दाइले आर्थिक सहयोग संकलन गरेरै भए पनि जेलबाट छुटाएर नेपाल फर्काउने विश्वास दिए । त्यसपछि मात्रै आश पलायो। जेलमा पर्दा मैले आस मारिसकेको थिएँ। बाँकी जीवन जेलमै बित्ने भयो भन्ठानेको थिएँ। घरमा रहेका बुवाआमालाई सम्झिन्थेँ। भक्कानिएर रुन्थेँ। जेलमा रहँदा कुटपिट त हुँदैथ्यो थियो। तर कहिले निस्किन्छु भन्ने मनमा कुरा खेलिरहन्थ्यो। निस्किन्छु निस्किन्न भन्ने तनाब भइरहन्थ्यो। जेलमा मोवाइल चलाउन दिँदैन थियो। एउटा रिसिभर हुन्थ्यो। रिसिभरबाट कहिलेकहीँ परिवारसँग कुराकानी गर्थेँ।

जेलमै थिएँ तैपनि फैसला नहुँदासम्म म आउँछु होला भनेर ढाँट्थेँ । घरमा पनि सान्त्वना दिन्थें। सत्य कुरा पनि कहिलेकहीँ ढाट्दा नमिठो अनुभव हुँदो रैछ। पहिलोपटक अनुभव गरे। क्षतिपूर्तिबारे फैसला भएपछि घरमा सुनाए। नआत्तिनु घरमा आउँछु भनेर विश्वास दिलाएँ। एकमनले के हो कसो हो, कहाँ छु, निस्कन पाउँछु कि पाउँदिन भनेर लागिरहन्थ्यो। बुवाआमालाई भेट्न पाउँछु कि पाउँदिन भन्ने लाग्थ्यो। 

कार्कीलाई जेलबाट छुटाउन स्थानीय छिमेकी महेन्द्र न्यौपानेसहित संविधानसभा सदस्य हेमराज भण्डारीले सरकारी पहल सुरु गरेका थिए। दिनेशलाई छुटाउन आर्थिक सहयोग संकलनदेखि प्रमुख जिल्ला अधिकारी, प्रधामन्त्रीसँग पहलका लागि पुगेको स्थानीय महेन्द्र न्यौपानेले बताए। समाजिक सञ्जालमा सहयोग संकलन अभियानसमेत चलाइएको थियो। डेढवर्ष अभियान चलाउँदा देश तथा विदेशमा रहेका नेपालीहरू, विभिन्न सामाजिक संघ–संस्था तथा सरकारी निकायबाट सहयोग जुटेको उनले बताए। साउदी सरकारले ५५ हजार रियाल क्षतिपूर्तिबापत जरिवाना रकम तोकेको थियो। तर दूतावासको पहलमा साउदी सरकारले ५५ हजारबाट छुट गर्दै ३० हजार पुर्‍याएपछि दिनेशलाई जेलबाट छुटाउन सम्भव भएको संविधानसभा सदस्य हेमराज भण्डारीले बताए। 

आर्थिक सहयोग संकलन अभियानवाट ९ लाख ९१ हजार ६ सय ११ रुपैयाँ सहयोग संकलन भएको थियो। त्यस मध्येबाट ८ लाख ९ हजार ५ सय रूपैयाँ जरिवाना बापतको रकम तिर्न पठाइएको थियो। भने ३१ हजार पाँच सय रुपैयाँ टिकटमा खर्च गरिएको थियो। दिनेशको यातायात, लत्ताकपडा, स्वास्थ परीक्षणमा २७ हजार रूपैयाँ खर्च गरी बाँकी बचत रहेको करिब ४० हजार रूपैयाँ रकम परिवारलाई हस्तान्तरण गरिएको न्यौपानेले बताए। व्यापारी दुर्गा प्रसाईले घरमा भेट्न बोलाएर २ लाख रूपैयाँ आर्थिक सहयोग गर्छु भनेर घोषणा गरे पनि सहयोग नगरेको उनले गुनासो गरे। सहयोग गर्छु भनेर असक्त बुवालाई काठमाडौंंसम्म ल्याइयो। प्रसाईले मिडियाबाजी मात्रै गरे सहयोग गरेनन् ।  आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

सम्बन्धित समाचार