२०८३ असार १० गते , बुधबार

स्टेसनरी व्यवसायी महासङ्घको केन्द्रीय सदस्यमा गौतम

sajilo news
मोरङ
२०८० फाल्गुन ८ गते , मंगलबार
स्टेसनरी व्यवसायी महासङ्घको केन्द्रीय सदस्यमा गौतम

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको केन्द्रीय सदस्यमा सुनसरीका राजमणि गौतम सर्वसम्मत निर्वाचित भएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कोशी प्रदेशको पाँचौँ प्रदेश अधिवेशनपछि बसेको पहिलो बैठकले भूगोलबाट केन्द्रीय सदस्य पदमा एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेपछि उनी सम्भवतः सर्वसम्मत निर्वाचित हुने पक्का भएका हुन् । 

कोशी प्रदेशको भूगोल कोटाबाट एक जना केन्द्रमा प्रतिनिधित्व गर्न पाउने कानुनी प्रावधान छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष जीवनप्रसाद नेपालका अनुसार गौतम को मात्र नाम सिफारिस गर्ने निर्णय भएपछि उहाँ सर्वसम्मत रुपमा केन्द्रीय सदस्य पदमा चयन हुनुहुनेछ । यद्यपि यसको निर्वाचन समितिले भने पछि घोषणा गर्ने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कोशीले जनाएको छ। 

महासङ्घको आसन्न सातौँ राष्ट्रिय महाधिवेशनका लागि कोशी प्रदेशले ५ पदाधिकारी सहित छ जनाको नाम टुङ्गो लगाएको छ। आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा विराटनगरका मातृका शिवाकोटी, उपाध्यक्षमा सुनसरीका रञ्जन शर्मा चौलागाईं, उपमहासचिवमा सुनसरीकै रवीन्द्र बराल,सह कोषाध्यक्षमा झापाका रविन बराल, खुल्ला सदस्यमा झापाका पुष्पराज प्रसाईँ, सुनसरीका खिलराज निरौला (अनुप) र लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा फिदिमका उमेश अधिकारीलाई कोशी प्रदेशका तर्फबाट उम्मेदवार बनाउने निर्णय भएको प्रदेश सचिव दिवाकर भट्टराईले बताए । प्रदेश समितिले पदाधिकारी र खुल्ला सदस्यमा केही नामहरू थप गर्न सक्ने उनले बताएका छन् । 

प्रदेश समितिले सिफारिस गरेका नाम र थप प्रस्तावित नामहरूका बारेमा केन्द्र, प्रदेश र जिल्लामा मतभेद भए त्यसलाई निराकरण गर्न प्रदेश अध्यक्ष जीवनप्रसाद नेपालको अध्यक्षतामा सात सदस्यीय कार्यदल समेत गठन गरेको छ । सो समितिको सदस्यमा सञ्जीव सत्याल, रञ्जन शर्मा चौलागाईँ, विनोद सापकोटा, दिनेश पन्त, राजन बस्नेत र विक्रम कार्की सर्वसम्मत चयन भएका छन्। 

यस्तै प्रदेश समितिले आफ्नो कार्यसम्पादन चुस्तदुरुस्त बनाउनका लागि सचिवालय समेत गठन गरेको छ। सचिवालयमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घकोशी प्रदेशका पदाधिकारी सबै रहेका छन्  । यस्तै एक जना सदस्य विक्रम कार्की प्रदेश समितिमा मनोनीत भएका छन् । उनलाई सोमबारै बसेको बैठकले प्रदेश समिति र सचिवालयमा एकै पटक मनोनीत गरेको हो। 

यस्तै समितिको बैठकले सञ्जीव सत्यालको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ। सो समितिको सदस्यमा मोरङका मातृका शिवाकोटी, झापाका फणीन्द्रराज न्यौपाने, मोरङका गङ्गाधर मैनाली र झापाका दुर्गा पौडेल सर्वसम्मत रुपमा चयन भएका छन्।  माघ २७ गते गठन भएको कोशी प्रदेश समितिको सोमबार एक कार्यक्रमका बीच पदस्थापन गरिएको छ । निर्वाचित पदाधिकारी र सदस्यलाई निर्वाचन समितिका अध्यक्ष मातृका शिवाकोटीले विजेताको प्रमाणपत्र प्रदान गरेका थिए।

सम्बन्धित समाचार