अर्जुनधारा बन्यो १४औँ राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन
झापा । झापा जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले उचालेको छ । अर्जुनधाराको विभिन्न ५ स्थानमा भएको विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधारा नगरपालिका दोस्रो पटक च्याम्पियन बनेको हो ।
अघिल्लो वर्ष भएको १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि अर्जुनधारा च्याम्पियन बनेको थियो । अर्जुनधाराले १६ स्वर्ण, १५ रजत र १२ कांस्यसहित रनिङ शिल्ड उचालेको हो । अर्जुनधाराले सबैभन्दा बढी एथलेटिक्समा ८ स्वर्ण, २ रजत र ३ कांस्य, करातेमा ४ स्वर्ण र १ कांस्य, तेक्वान्दोमा ३ स्वर्ण, ६ रजत र ३ कांस्य पदक पाएको थियो । यस्तै, उसुमा १ स्वर्ण, ७ रजत र ४ कांस्य र भलिबलमा १ कांस्य जित्दै फेरि च्याम्पियन बनेको हो ।
अर्जुनधारापछि मेचीनगरले दोस्रो स्थान हासिल गरेको छ । उसले ११ स्वर्ण, १२ रजत र १३ कांस्य प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेको हो । मेचीनगरले सर्वाधिक उसुमा ५ स्वर्ण प्राप्त गर्दा एथलेटिक्समा ४ स्वर्ण, भलिबल र करातेमा १-१ स्वर्ण जित्न सफल बन्यो । यसैगरी, तेस्रो स्थानमा बिर्तामोड नगरपालिका रह्यो । उसले ८ स्वर्ण, ८ रजत र १३ कांस्य पदक जित्दै तेस्रो बनेको हो । उसका लागि सर्वाधिक उसुमा ४ स्वर्ण जितेको छ । यस्तै, कराते र एथलेटिक्समा २-२ स्वर्ण जितेको हो । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरूमा ४१८ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
जिल्लाभरिका १८ वर्षमुनिका छात्रछात्रा गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ९प्रशान्त०को अध्यक्षतामा भएको समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, विभिन्न कार्यालयका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधिलगायतले विजेताहरूलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।