पुरिएको पाटेबाघ निकालेर पोस्टमार्टम
झापा । नवलपुरको मध्यविन्दु–१०, अरुणखोलाको जङ्गलमा मृत अवस्थामा भेटिएको बाघलाई पुनः खाल्डोबाट निकालेर पोस्टमार्टम गरिएको छ । करिब एक साताअघि मृत अवस्थामा भेटिएको बाघ सड्न थालेको भन्दै डिभिजन वन कार्यालयले शुक्रबार पोस्टमार्टम नगरी जङ्गलमा गाडेको थियो ।
सङ्कटापन्न दुर्लभ पाटेबाघ मरेको कारण पत्ता लगाउन छोडेर पोस्टमार्टम नगरी बाघ गाडेको भन्दै आलोचना भएको थियो । आलोचनापछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्देशनमा गाडेको बाघ निकालेर पोस्टमार्टम गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरणबाबु रिजाल र चितवन राष्ट्रिय निकुञ्जका दिनेश ढकालसहितको टोलीले बाघको पोस्टमार्टम गरेको हो ।
पोस्टमार्टमपछि नमुना सङ्कलन गरेर प्राविधिक टोलीले लगेको सबडिभिजन वन कार्यालय, अरुणखोलाका अधिकृत अर्जुन सापकोटाले जानकारी दिए । पोस्टमार्टममा सहभागी कोषका भेटेरिनरी प्राविधिक रिजालले विषाक्त खानेकुराका कारण बाघ मरेको हुन सक्ने बताए।
उनले बाघको शरीरको बाहिरी भागमा चोटपटक, घाउ केही नदेखिएकाले जुधेर वा जालमा परेर बाघ मर्नुको अन्तिम कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्ट कुर्नुपर्ने बताए ।
उनका अनुसार पोस्टमार्टमको नमुना नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने छ । उनले बाघ सड्ने अवस्थामा पुगेकाले यकिन नतिजा आउने विषयमा आफूहरू पनि ढुक्क नभएको बताए । उनका अनुसार विधि विज्ञान प्रयोगशालामा पठाएपछि नतिजा आउन कम्तीमा एक साता लाग्ने छ ।
शुक्रबार १०६ इन्च लम्बाइ, ६४ इन्च गोलाई भएको वयस्क बाघ मृत अवस्थामा फेला परेपछि घटनास्थल पुगेको डिभिजन वनको टोलीले मुचुल्का गरेर बाघलाई सोही स्थानमा गाडेको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।