२०८१ बैशाख ७ गते , शुक्रबार

सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया बैंक

sajilo news
पत्रपत्रिका
२०८० फाल्गुन ६ गते , आईतबार
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया बैंक

झापा । एनआईसी बैंक डुब्न लागेको र नेपाल राष्ट्र बैंकले ‘डिप इन्स्पेक्सन’ गर्न थालेको भन्दै सर्वसाधारणहरू बैंकमा बचत र मुद्दती खातामा रहेको रकम निकाल्न आतुर भएका छन् । शुक्रबार बैंकिङ समयमा प्रत्येक शाखामा भीड भएपछि सर्वसाधारण आइतबारको बैंकिङ समय कुरेर बसेका छन् ।

इन्टरनेट र मोबाइल बैंकिङको सुविधा लिएका अनि एटीएम कार्ड भएकाहरूले धमाधम आफ्नो खाताबाट रकम निकाल्ने र ट्रान्सफर गर्न थालेका छन् । शनिबार पनि एटीएम काउन्टरहरूमा पर्याप्त रकम नभएपछि सर्वसाधारण झन् आइतबारका लागि अधैर्य भएका छन् । एनआईसी एसिया बैंकले बैंक अब्बल रहेको भने तापनि सर्वसाधारण विश्वास नगर्ने पक्षमा पुगिसकेका छन् ।

विगतमा पनि सरकारले सहकारी डुब्दैन भन्दै गर्दा पनि सहकारीमा रकम फसेको अनुभव बोकेका सर्वसाधारणले राष्ट्र बैंकको भनाइ एनआईसीको प्रभावमा बोलेको र केही मिडियाले विज्ञापनको आडमा समाचार लेखेको भन्ने निचोडमा सर्वसाधारण पुगिसकेका छन् । शुक्रबार पनि मुद्दती खातामा रहेको रकम म्याचुअर नहुँदै सर्वसाधारण प्रि–म्याचुर गरेर भए पनि रकम निकाल्न लालायित भएका थिए ।

बैंकमा पर्याप्त रकम नभएपछि केही दिनमा आउन बैंक कर्मचारीहरू ग्राहकलाई अनुरोध गरिरहेका थिए । गत एक माघ महिनामा मात्र बचतकर्ताले १४ अर्ब रुपैयाँभन्दा बढी रकम निकालेको देखिएको छ । फागुन लागेपछि त्यो क्रम झनै बढ्दै गएको छ । पुस महिनामा बैंकको कुल निक्षेप ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो भने माघमा त्यो रकम घटेर ३ खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ ।

एनआईसी एसिया बैंकमा गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै थुप्रिएकाले बैंक डुब्ने स्थितिमा पुगेको निचोड रहेको छ । बैंक व्यवस्थापनले ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला भएपछि धितो लिलामीको नाममा जफत गर्ने गरेको छ । त्यसरी लिलामी गरेर बैंकका नाममा राखिएको तर त्यसलाई लिलामी गरेर सर्वसाधारणलाई बेच्न बैंक व्यवस्थापन असफल हुँदै आएको छ ।

बैंक सञ्चालक र व्यवस्थापनले आफंैले कम मूल्यमा सकारेर लिने दाउ खेल्नका लागि गैरसम्पत्ति बढेको हो । एनआईसी एसिया बैंकसँग अहिले यस्तो गैर बैंकिङ सम्पत्ति ३ अर्ब ५० करोडभन्दा धेरै रहेको छ । त्यस्तो, गैरबैंकिङ सम्पत्ति दुई वर्षभित्र लिलाम बिक्री गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, एनआईसी एसिया बैंकका व्यवस्थापक र सञ्चालकका लागि यो व्यवस्था अपवाद हुँदै आएको छ ।

त्यसरी गैरबैंकिङ सम्पत्ति थुपारेर राख्नु राष्ट्र बैंकको नीतिविपरीत भए पनि राष्ट्र बैंकले उसलाई कारबाही गर्न आनाकानी गर्दै आएको छ । त्यसरी बैंकको नाममा घरजग्गा (गैरबैंकिङ सम्पत्ति) थुप्रिँदै जाँदा नगद मौज्दात कम हुँदै जाने हुन्छ । यस्तै, स्थिति ठूलाठूला सहकारीमा पनि भएको थियो । जसले गर्दा सहकारी डुब्न गएको थियो ।

अहिले नियमक निकाय र बैंकले सर्वसाधारणलाई झुक्याउन काम गरेको भन्दै भविष्यमा सहकारीको हालतमा नपुगून् भनेर सर्वसाधारण बैंकमा निक्षेप निकाल्न आतुर भएका हुन् । सहकारीहरू पनि अहिले निक्षेपको सट्टामा जग्गा लेउ भन्दै अफर गरिरहेका छन् । एनआईसी एसिया पनि लगभग सोही स्थितिमा पुगिसकेको बताइएको छ ।

अहिले नेपालमा भएका बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनुपरेको छ । एनआईसी एसिया बैंकले निर्वाध रूपमा किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षागार्ड राखेर मानसिक यातना र सामाजिक बेइज्जती गरेको थियो । सर्वसाधारणलाई बैंक पनि साथी पनि भनेर झुक्याउन सफल एनआईसी एसिया बैंक खासमा नेप्सेको कम्पनी सूचीकरणमा ‘बी’ समूहमा पनि पर्न नहुने बुझाइ सरोकारवालाहरूको छ ।

एनआईसी एसियाको वास्तविक वित्तीय विवरण बुझेका कर्मचारी निराश हुन थालेका छन् । साथीहरूले र ग्राहकहरूले निक्षेप माग्दा दिन नसक्ने अवस्थामा पुगेपछि उनीहरू आजित हुन थालेका छन् । एनआईसी एसियामा लगभग ३ हजार कर्मचारी छन् । तीमध्ये आधा जति अर्थात् करिब १ हजार ५ सयभन्दा बढी कर्मचारीलाई बैंक व्यवस्थापनले करारमा राखेको छ । उनीहरूलाई ६–६ महिनामा करार नवीकरण गर्ने गरेको छ ।

एनआईसीमा करारमा कर्मचारी अधिक भएको रिपोर्ट सार्वजनिक भएपछि बैंकले करारका कर्मचारीमध्ये केहीको करार नवीकरण नगरी बैंकबाट निकालेको छ । बैंक व्यवस्थापनले तल्लो तहका कर्मचारीमाथि व्यापक दमन र विभिन्न खाले शोषण गरिरहेको छ । आफूहरू पनि तारोमा पर्ला भनेर कर्मचारी त्यसविरुद्ध बोल्न नसक्ने स्थितिमा छन् ।

यसमा नियमनकारी राष्ट्र बैंकले एनआईसी एसिया बैंकको यस्ता कुकृत्यलाई मौन समर्थन गर्नेबाहेक केही गरेको छैन । एनआईसी एसिया बैंकले अधिकांश लगानी घरजग्गामा गर्दै आएको छ । घरजग्गामा पाइने ब्याज सहुलियतमा समेत एनआईसी एसिया बैंकले दुरुपयोग गरेको आशंकामा अन्तर्राष्ट्रिय मुद्रा कोषको दबाबमा राष्ट्र बैंकले अडिट गर्न‘पर्ने अवस्था आएको छ ।

एनआईसी एसियाले किस्ता नतिर्ने ऋणीलाई सहुलियत दिने किस्ता तिर्ने ऋणीलाई सहुलियत नदिने विभेदकारी नीति लिँदै आएको छ र १ खर्बभन्दा बढी किस्ता नतिरेका घरजग्गा कर्जाको फर्जी ऋणीहरूको विवरण बनाएर सहुलियत दुरुपयोग गरेको आशंकामा आईएमएफले इन्टरनेसनल अडिटको दबाब दिएको हो । यी र यस्ता कुकृत्यको प्रपञ्च मिलाउने जिम्मा बैंकको एमजी अर्जुन खनियाँले लिँदै आएका छन् ।

उनले नै राष्ट्र बैंकका अधिकारीलाई व्यवस्थापन गर्दै आएका छन् । पछिल्लो समय बैंकमा भएका बदमासी एकपछि अर्काे गर्दै सार्वजनिक हुँदै गएपछि एनआईसीका सकुनी भनेर कर्मचारीमा चिनिएका खनियाँ बिरामी भएको बहानामा अस्पताल गएको जवाफ दिएर समाचारको मुखबाट उम्किने प्रयास गरिरहेका छन् भने डीसीईओ सन्तोष राठी मौनता साँधेर पन्छिँदै आएका छन् ।

त्यहाँभित्र खनियाँ र सीईओ रोशन न्यौपानेले सञ्चालकको निर्देशनमा गरेको कुकृत्यको साक्षी बन्न अस्वीकार गर्दै अवकाशको मुखमा पुगेका सुधीर पाण्डेले राजीनामा दिएको आफ्नो प्रतिक्रियामा बताएका छन् । तर, स्वयं सीईओ न्यौपाने अब बिस्तारै अप्ठेरो अवस्थामा पुगेका छन् । बैंकभित्रका बदमासी थेग्नै नसक्ने गरी बिस्तारै बाहिर आउन थालेपछि निक्षेपकर्ताले धमाधम आफ्नो निक्षेप निकाल्न थालेका छन् ।

बैंकले निक्षेप र कर्जाको सम्पूर्ण प्रक्रिया थाँती राखेर ललितपुर पुल्चोकस्थित श्रीलालीगुराँस बहुद्देश्यीय सहकारीले जस्तै गरी रिकभरीमा ध्यान केन्द्रित गरेको छ । तर, अहिलेको आर्थिक मन्दीमा कर्जा चुक्ता गर्ने सामथ्र्य कुनै पनि ऋणीसँग देखिएको छैन ।

यस्तो अवस्थामा एनआईसी एसियाको रिकभरीको एक सूत्रीय अभियान डुबेका सहकारी संस्थाको रिकभरीको मनचिन्ते अभियानजस्तै बन्न पुगेको छ । तर, पनि आफ्नो गल्ती र बदमासी छोप्न र टाउको लुकाउन एनआईसी एसिया बैंकको व्यवस्थापनले एड समाचारलाई विज्ञापनका रूपमा (कन्टेन्ट एड) छापेर सामाजिक सञ्जाल रंगाइरहेको छ । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार