कर्मचारी अन्तरपालिका फुटबल प्रतियोगिता : भद्रपुर, कमल, बिर्तामोड र कनकाई विजयी
झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको शनिबार भएको ४ खेलमा कमल गाउँपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र कनकाई नगरपालिका विजयी भएको छ ।
पहिलो खेलमा झापा गाउँपालिकालाई हराउँदै कमल गाउँपालिका विजयी भएको हो । झापा गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै कमल गाउँपालिका विजयी भएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको ३० औ मिनेटमा कमल गाउँपालिकाका तर्फबाट दीपेन्द्र लामिछानेले पहिलो गोल गरे । खेलको ३७ औं र ४२ औं मिनेटमा कमल गा.पा.का मनीकुमार लिम्बुले एक एक गोल गरेपछि झापा गाउँपालिका सँग ३–० को गोल अन्तर बनाउन सफल भयो । खेलको म्यान अफदी म्याच कमल गा.पा.का मनीकुमार लिम्बु घोषित भए ।
त्यस्तैगरी दोस्रो खेलमा दमक नगरपालिकालाई ३– ० गोल अन्तरले हराउँदै भद्रपुर नगरपालिका विजयी भएको छ । भद्रपुरका तर्फबाट चन्द्र प्रधान, विनोद श्रेष्ठ र अरिफ अलीले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच चन्द्र प्रधान घोषित भए ।
आजै भएको तेस्रो खेलमा मेची नगरपालिकालाई हराउँदै बिर्तामोड नगरपालिका विजयी भएको छ । मेची नगरपालिकालाई ४–१ गोल अन्तरले हराउँदै बिर्तामोड विजयी भएको हो । खेलमा बिर्तामोडका तर्फबाट चुनूँ सेरेङ, रविन मूर्मुले एक एक गोल गरे भने राम बुढाथोकी दुई गोल गरेका थिए । मेची नगरपालिकाको तर्फबाट रोजित अलीले एक गोल गरे । खेलको म्यान अफ दी म्याच बिर्तामोडका राम बुढाथोकी घोषित भए ।
आजको चौथो खेलमा कनकाई नगरपालिका र गौरादह नगरपालिका बीच हुने तय भए पनि गौरादह नगरपालिका अनुपस्थित भएपछि कनकाई नगरपालिका अर्को चरणमा स्वतः प्रवेश गरेको छ ।
गौरादह नगरपालिका निर्धारित समयसम्म नआएपछि कनकाई नगरपालिकालाई स्वतः विजयी घोषणा गरिएको आयोजक समितिका संयोजक प्रकाश चौधरीले जानकारी दिए । उनले भने, हामीले १ बजे दुवै टिमलाई बोलाएका थियौ, ३ बजेसम्म पनि गौरादह नगरपालिकाबाट उपस्थिति नजनाएपछि कनकाई नगरपालिकालाई विजयी घोषणा गरिएको हो । आज भएका तीन खेलमा म्याद अफ दी म्याच घोषित भएका खेलाडीहरूले नगद २ हजारसहित ट्रफि प्राप्त गरेका छन् ।
अन्तरपालिका कर्मचारीहरूको ४ क्वाटर फाइनल खेल पर्सी ७ गते हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी र भद्रपुर, हल्दीबारी र कचकवल, बिर्तामोड र कनकाई, कमल र बाह्रदशी बीच हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।