नेपाल चिया उत्पादक संघको पदस्थापन कार्यक्रम सम्पन्न
भद्रपुर । नेपाल चिया उत्पादक संघ केन्द्रीय कार्यसमिति झापाको पदस्थापन कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको छ । । भद्रपुरमा सम्पन्न संघको १५ औ साधारण सभाबाट निर्विरोध निर्वाचित पदाधिकारीहरूको पदस्थापन गरिएको हो । संघको साधारण सभाबाट अध्यक्षमा आदित्य पराजुली निर्विरोध निर्वाचित भएका छन् ।
संघको उपाध्यक्षमा शिवकुमार गुप्ता, महासचिवमा शुक्रबहादुर दाहाल, सचिवमा सागर घिमिरे, कोषाध्यक्षमा प्रकाश उप्रेती निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा दीपेश ढकाल, राजेन्द्रकुमार सिंह, रमेश पराजु्ली, मनोज श्रेष्ठ, शुभाषरत्न शाक्य र दीपक पाठक चयन छन् ।
संघका अध्यक्ष सुरेशकुमार अग्रवालको अध्यक्षता तथा नेपाल सार्क एसिया चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा निर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गरिएको थियो । कार्यक्रममा चिया उत्पादक संघका अध्यक्ष अग्रवालले स्वागत गर्दै बिदाइ मन्तव्य राखेका थिए । कार्यक्रममा चिया उत्पादक संघका पूर्व अध्यक्ष चण्डी पराजुलीले धन्यवाद मन्तव्य दिँदै तस्करीको माध्यमबाट भारतीय चिया आएकोले रोक्न प्रहरी प्रशासनलाई अनुरोध गर्दै चिया उद्योगीले भोग्नु परेका समस्याका बारेमा जानकारी गराएका थिए । नवनिर्वाचित अध्यक्ष पराजुलीले अन्तर्राष्ट्रिय बजारमा नेपालको चियालाई स्थापित गराउने प्रतिबद्धता जाहेर गरेका थिए ।
महासचिव शुक्रबहादुर दाहालले सञ्चालन गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगत उपाध्यक्ष हेमराज ढकाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा झापामा सरुवा आएका तथा झापाबाट सरुवा भएर जान लागेका प्रहरी प्रशासन प्रमुखहरुलाई स्वागत तथा बिदाइ समेत गरिएको थियो ।