२०८१ बैशाख ३ गते , सोमबार

घैलाडुब्बा शिवालय मन्दिरको स्तरवृद्धिमा मेचीनगरको चासो

sajilo news
झापा
२०८० फाल्गुन ४ गते , शुक्रबार
घैलाडुब्बा शिवालय मन्दिरको स्तरवृद्धिमा मेचीनगरको चासो

मेचीनगर । पूर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा) मन्दिर स्तर उन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले विगत लामो समयदेखि ओझेलमा पर्दै जीर्ण अवस्थामा रहेको मेचीनगरको उक्त मन्दिर स्तरवृद्धि गर्दै  पुनः यस क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकार मेचीनगर लागि परेको हो । 

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको जनप्रतिनिधिको टोलीले पुरातात्त्विक महत्त्व बोकेको तर हाल जीर्ण अवस्थामा रहेको मेचीनगर ५ र ८ स्थित  घैलाडुब्बा शिवालय मन्दिर स्तरवृद्धि गर्न प्राथमिकताका साथ चासो दिएर काम अगाडि बढाइरहेका छन् । 

सोही कार्यलाई निरन्तरता दिँदै आज नगरपालिकाले पुरातात्त्विक विभागको उपसचिवसहितको टोलीलाई  स्थलगत रूपमा नै फिल्डमा बोलाएर यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक बजेट छुट्याएर सहयोग पुर्‍याउन आग्रह समेत गरेको छ ।  

मेचीनगरको पहिचानको रूपमा रहेको यस मन्दिरलाई स्तरवृद्धि गर्दै आवश्यक मर्मत सम्भार गर्न सके यसले समग्र  मेचीनगरको आर्थिक विकासमा यसले टेवा पुर्‍याउने नगरप्रमुख बुढाथोकी बताउँछन् । उनले सय क्षेत्रलाई धार्मिक तथा पर्यटन सँग जोडेर नगरको आम्दानीको स्रोतको रूपमा यसलाई अगाडि बढाइने योजना रहेको बताए ।

पूर्वकै पुरानो विरासत बोकेको यस ऐतिहासिक क्षेत्रलाई स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय गरी अगाडि बढ्ने उपप्रमुख उप्रेती बताउँछिन् । उनले यस क्षेत्रको विकासका लागि आफूहरू लागि परिरहेको बताउँछिन् ।

यस अघि नगरपालिकाको आग्रहमा पुरातात्त्विक विभागबाट ३३ लाखको बजेटमा जीर्ण रहेको मुख्य मन्दिर बनाउने कार्य चलिरहेको बताउँदै त्यसलाई पूर्ण रूपमा सम्पन्न गर्न आफूहरू लागि परिरहेको उनको भनाइ छ ।  यता पुरातात्त्विक विभागका उपसचिवले बजेट अभावले अधुरो रहेको यस मन्दिर अब निरन्तर अगाडि बढ्ने बताए ।उनले यी र यस्ता पुरातात्त्विक मठ-मन्दिरको संरक्षण गर्न पुरातात्त्विक विभाग लागि परिरहेको बताए ।

अनुगमनमा नगर प्रमुख, उपप्रमुख, पुरातात्त्विक विभागको उपसचिवसहितको टोली, मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की, ८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर सामाजिक विकास संयोजक तथा कार्यपालिका सदस्य हृदय राजवंशी, मेचीनगर पूर्वाधार विकास संयोजक तथा कार्यपालिका सदस्य चित्र धिमाल, न्यायिक समिति सदस्य तथा मेचीनगर ८ का वडा सदस्य कुन्दन निरौला, मन्दिर व्यवस्थापन समिति अध्यक्ष चन्द्र कोइराला, देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष सामाजिक अभियन्ता गणेश खरेललगायतको सहभागिता रहेको थियो । 

 

सम्बन्धित समाचार