मलेसियामा गैरकानुनी रुपमा बसेकालाई उपचारमा समस्या
काठमाडौं । रोजगारीका लागि विगत लामो समयदेखि मलेसियामा कार्यरत थिए बर्दियाका ४० वर्षीय शिवप्रकाश थारू । उनी गैरकानुनी रूपमा मलेसियाको पेनाङस्थित एक सेक्युरिटी गार्ड कम्पनीमा काम गर्दै आइरहेका थिए ।
उनी कार्यरत रहेकै बेला प्यारालाइसबाट ग्रस्त भई विगत तीन महिनादेखि ओछ्यान परेका छन् । रोगबाट ग्रस्त बनेपछि जनउद्धार केन्द्र मलेसियाको सम्पर्कमा पुगेका उनलाई उद्धार गरी नेपाल फर्काइएको केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।
कागजातविहीन अवस्थामा रहेका उनलाई अस्पताल भर्ना गरेर उपचार गराउने सम्भावना नभएपछि केन्द्रले आवश्यक कागजात बनाउन त्यहाँस्थित नेपाली दूतावासलाई आग्रह गरेको थियो । बिरामीले जतिसक्दो छिटो स्वदेश फर्कन पाए बाँकी उपचार नेपाल गएर गर्ने मनसाय व्यक्त गरेपछि दूतावासले पनि यथाशीघ्र ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।
‘एक त उनी वैधानिक कागजातविहीन थिए, त्यसैमाथि उनीसँग कोभिड भ्याक्सिनको प्रमाणसमेत थिएन, मलेसियाको अध्यागमनबाट प्राप्त हुनुपर्ने कागजहरूको प्रक्रिया पनि निकै लामो र झन्झटिलो बनेको थियो,’ अध्यक्ष थापाले भने, ‘यसका बाबजुद सम्पूर्ण प्रक्रिया मिलाएर हिमालय एयरलाइन्सको उडानमा बुधबार नेपाल पठाउन सफल भयौं ।’
जनउद्धार केन्द्रका संरक्षक तथा हाँस्य अभिनेता मनोज गजुरेललगायतले त्रिभुवन विमानस्थलमा बुझेर उनलाई आफन्तको जिम्मा लगाएका जनउद्धार केन्द्रले जनाएको छ । उनलाई हाल वीर अस्पताल भर्ना गरी उपचार अगाडि बढाइएको परिवारले जनाएको छ ।
उनको साथमा अन्य दुई जनालाई समेत नेपाल फर्काइएको जनाइएको छ । पछिल्लो समय मलेसियामा क्रियाशील रहेको जनउद्धार केन्द्रले नेपाली दूतावासको सहकार्यमा त्यहाँ समस्यामा परेका नेपाली कामदारलाई उद्धार गर्दै आएको छ । आजको राजधानी दैनिकमा खबर छ ।