झापामा ब्राउन सुगरसहित दुईजना पक्राउ
झापाको बिर्तामोड र मेचीनगरमा ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । बिहीबार साँझ सवा ५ बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ कृषि थोक बजारमा शङ्कास्पद अवस्थामा हिडिरहेका भारत प्रोफेसर कलोनी कटिहार वडा नम्बर २२ बिहार राज्य घर बताउने अन्दाजी ३० वर्षीया शोभा दास (साह)लाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको ब्यागबाट एक हजारको नेपाली नोट थान ३७, पाँच सयको नेपाली नोट थान १३, एक सयको नेपाली नोट थान ३, बिसको नेपाली नोट थान ६, दसको नेपाली नोट थान १ र पाँचको नेपाली नोट थान २ गरी जम्मा नेपाली नगद रु. ४३हजार ९४० र सोही ब्यागभित्र सेतो प्लास्टिकको चारपाटे बट्टाभित्र २ ग्राम २४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
त्यस्तै आजै साँझ ५.४५ बजे मेचीनगर ६ मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेका दमक- ५ यलम्बर चौक बस्ने अन्दाजी २४ वर्षीय सागर खडकालाई शंका लागेर चेकजाँच गर्दा जिन्स पेन्टको अगाडि दाहिने पट्टीको गोजीभित्र सेतो रंगको प्लास्टिकले पोका पारेर लुकाई छिपाई राखेको अवस्थामा १ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।