२०८३ बैशाख २४ गते , विहीबार

इन्स्पेक्टरले कारबाही नगरी छाडे युवक, त्यही समूहले फेरि त्यही नाकाबाट भित्रायो भन्सार छलेर लत्ताकपडा

sajilo news
झापा
२०८० फाल्गुन ३ गते , विहीबार
इन्स्पेक्टरले कारबाही नगरी छाडे युवक, त्यही समूहले फेरि त्यही नाकाबाट भित्रायो भन्सार छलेर लत्ताकपडा

भद्रपुर । वडा प्रहरी कार्यालय भद्रपुरले तस्करीका सामानसहित पक्राउ परेका एक युवक (लाइनमेन)लाई कारबाही नगरी छाडेको भोलिपल्ट त्यही समूहले प्रहरीलाई उल्टै चुनौती दिँदै फेरि भन्सार छलेर तस्करीको माध्यमबाट सामान भित्राएको पाइएको छ । वडा प्रहरी कार्यालयबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ ७:१५ बजेको समयमा भद्रपुर नगरपालिका- ५ स्थित राई बस्ती नजिकैबाट लत्ताकपडा बरामद गरेको छ ।

नेपाल-भारत सीमा पिलर ९९ बाट भन्सार छलेर भित्राइएको चार पोका कपडा घरभित्र हाल्नै लाग्दा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएका ३० थान साडी कपडा, १६ थान झुल, ४९० पिस राधेराधे लेखिएको गम्छा, ४१ थान पण्डाल र पर्दाको कपडा गरी अन्दाजी ७० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका लत्ताकपडा भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जनाइएको छ ।  सादा पोसाकको प्रहरी टोलीले मंगलबार साँझ अन्दाजी ७ बजेको समयमा त्यही नाकाबाट भन्सार छलेर सामान ओसार्ने भद्रपुर नगरपालिका- ५ का एक्का भन्ने आकाश कामतीलाई पक्राउ गरेको थियो।  लाइनमेन कामतीको समूहले ५० हजार मूल्य बराबरको एसियन पेन्ट्सको १६ कार्टुन इनामेल, थ्रीनर र प्राइमर भन्सार छलेर भित्र्याउन लाग्दा प्रहरीले सामानसहित कामतीलाई पक्राउ गरेको थियो।  

तर, वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले दबाब र प्रभावमा परेर सामानसहित पक्राउ परेका कामतीलाई राति नै छाडिदिएको थियो । पक्राउ परेका मान्छेलाई आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा मंगलबार राति आफन्तजनलाई बोलाएर जिम्मा लगाएको वडा प्रहरीका इन्स्पेक्टर सञ्जीव बोगटीले बताएका थिए । तर, इन्स्पेक्टर बोगटीले छाडेको कामती समूहले उल्टै इन्स्पेक्टरलाई चुनौती दिँदै भोलिपल्टै फेरि सामान तस्करीको माध्यमबाट नेपाल भित्रायो ।

इन्स्पेक्टर बोगटीले सामानसहित कामतीलाई आवश्यक कारबाहीका लागि भन्सार बुझाएको भए भोलिपल्टै यस्तो घटना दोहोरिँदैन थियो होला जानकारहरू बताउँछन् । भद्रपुर-५ स्थित ९९ पिलर आसपास दोभान नाकाबाट भन्सार छलेर ठुलो मात्रामा सरसामान नेपाल भित्रिरहेको छ । 

यो पनि पढनुहोस्

भद्रपुरमा भन्सार छलिका सामानसहित पक्राउ परेका युवकलाई इन्स्पेक्टरले त्यतिकै छाडिदिए

सम्बन्धित समाचार