ट्याङकरको प्रयोग गरी गाँजा ओसापसार, ४ जना पक्राउ
धनकुटामा डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरको प्रयोग गरी लागुऔषध गाँजाको ओसारपसार गर्ने चार जनालाई ठुलो परिमाणको गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएका प्रहरी टोलीले बुधवार बिहानको राती २ बजे चेकजाँच क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चौकमा मुलघाटबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ७३२२ नम्बरको डिजेल पेट्रोल बोक्ने ट्याङकरलाई रोकेर हेर्दा उक्त ट्याङकरको तेल लगाउने डिब्बा भित्र लुकाइछिपाई राखेको ५९४ केजी लागुऔषध गाँजा फेला परेको थियो ।
गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सहचालक एमडी अफ्रोज ट्याङकरमा सवार ७० वर्षीय लखन महतो र रङ्गेली नगरपालिका- ७ मोरङका ७० वर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।