झापाले उचाल्यो कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दोको उपाधि
मोरङको बेलबारीमा सम्पन्न कोशी प्रदेशस्तरीय पाँचौँ आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि झापाले जितेको छ। बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित झापाले उपाधि हात पारेको हो। प्रतियोगितामा कोसी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो। १० वटा जिल्लालाई पछि पार्दै उपाधि रक्षा गर्न झापा सफल भएको छ।
प्रतियोगितामा ३ स्वर्ण, २ वटा रजत र ७ कास्य पदकसहित मोरङ दोस्रो भएको छ। त्यस्तै, ३ स्वर्ण, २ रजत र २ कास्य पदकसहित सुनसरी तेस्रो भएको छ। प्रतियोगितामा महिलातर्फ ४०–४५ किलो तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटकी विलिशा माझी द्वितीय तथा मोरङकी प्रीया माझी र पाँचथरकी चरितमा राई तृतीय भएका छन्।
महिलातर्फ नै ४६–५० किलो तौल समूहमा सुनसरीकी एलिका विक प्रथम, झापाकी नम्रता सिगु द्वितीय तथा मोरङकी अनुष्का धिमाल र पाँचथरकी एलिसा सेलिङ तृतीय भएका छन्। ५१–५५ तौल समूहमा सुनसरीकी बिट्नी राई प्रथम, मोरङकी प्रीया राय द्वितीय र झापाकी रेसिका बराल तृतीय भएका छन्।
त्यस्तै, ५६–६० किलो तौल समूहमा भोजपुरकी सजिना तामाङ प्रथम, सुनसरीकी एलिजा राई द्वितीय, आयोजककी दीक्षा लिम्बू र पायल मगर तृतीय भएका छन्। ६१–६५ तौल समूहतर्फ झापाकी सेहना लिम्बू प्रथम, आयोजककी दीक्षा खड्का द्वितीय, मोरङकी मनिषा भुर्तेल र इलामकी नैना खातुन तृतीय भएका छन्। ६६ किलोमाथिको तौल समूहमा आयोजककी एलिजा राजवंशी प्रथम र झापाकी सुष्मा अछामी द्वितीय भएका छन्।
पुरुषतर्फ ४५–५० तौल समूहमा मोरङका प्रकाश शर्मा प्रथम, झापाका शौरव श्रेष्ठ द्वितीय, पाँचथरका मनिष राई र भोजपुरका दीपक राई तृतीय भए। ५१–५५ तौल समूहमा पाँचथरका आलोक राई प्रथम, सुनसरीका पियूष श्रेष्ठ द्वितीय तथा झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी तृतीय भएका छन्।
५६–६० तौल समूहमा झापाका प्रितम धिमाल प्रथम, इलामका दीपप्रसन राई द्वितीय, मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ तृतीय भए। ६१–६५ किलो तौल समूहमा मोरङका लक्ष्मण राजवंशी प्रथम, झापाका मनिष श्रेष्ठ द्वितीय, आयोजकका सोनुदेव पोदार र सुनसरीका आशिष मगर तृतीय भएका छन्।
६६–७० तौल समूहमा मोरङका प्रथम कार्की पहिलो, भोजपुरका सुन्दर गुरुङ दोस्रो, पाँचथरका सक्षम बराईली र सुनसरीका सुरज बराईली तृतीय भएका छन्। त्यस्तै, ७१ किलोमाथिको तौल समूहतर्फ झापाका अनमोल लिम्बू प्रथम, आयोजकका विकास ठाकुर द्वितीय, मोरङका निशान्त भुजेल र धनकुटाका युनिक राई तृतीय भए।
कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बूका अनुसार प्रतियोगिता २ दिनसम्म चलेको थियो। त्यसमा ११ जिल्लाका १ सय ६३ जना खेलाडीले सहभागिता जनाएको जानकारी उनले दिए। विजेता खेलाडीलाई कोशीका प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पदक वितरण गरेका थिए।