फेरि बिथोलियो कृषि बजार बिर्तामोडको निर्वाचन
झापा । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन फेरि बिथोलिएको छ । हिजो स्थगित भएर आज सुचारु ग्रिएको निर्वाचन आज फेरि विवाद भएर बिथोलिएको हो । अर्जुनधारा नगरपालिकाले सिफारिस गरी पठाएको किसान प्रतिनिधिमा विवाद भएको हो । अर्जुनधारा नगरपालिकाले पाँच जनामध्ये राजेन्द्र काफ्ले नामका व्यक्तिलाई किसान प्रतिनिधिको रुपमा सिफारिस गरी पठाएको थियो । राजेन्द्र काफ्ले नामका व्यक्तिले मतदान गरिसकेपछि त्यही नामका अर्का व्यक्तिले आफूले मतदान गर्न पाउनु पर्छ भनेपछि विवाद भएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलले बताए । ४० जना मतदातामध्ये २६ जनाले मतदान गरिसकेपछि सक्कली नक्कली मतदातामा विवाद भएको हो ।
मतदातामा विवाद भएपछि नेपाली काँग्रेस , नेकपा एमालेलगायतका राजनीतिक दलहरूको सल्लाहमा निर्वाचन मतदान रोकेको अध्यक्ष पौडेलले बताए । अर्जुनधाराबाट भीमप्रसाद लम्साल , रमेश काफ्ले , राजेन्द्र काफ्ले , बिन्दा सुवेदी लुइँटेल र भानु मिश्रलाई किसान प्रतिनिधिको रुपमा सिफारिस गरिएको थियो । पहिला मतदान गरिसकेका राजेन्द्र काफ्ले नामका व्यक्तिलाई नै नगरपालिकाले सिफारिस गरेको जनाइएको छ ।
पालिकाहरूले सिफारिस गरी पठाएका किसान प्रतिनिधिका बारेमा हिजो पनि विवाद भएपछि निर्वाचन स्थगित गरी आजका लागि सारिएको थियो । यसअघि शनिवार व्यवसायीहरूको निर्वाचन सम्पन्न भएर आइतबार किसानहरूको निर्वाचन हुने कार्यक्रम रहेको थियो । गैर किसानलाई पालिकाहरूले सिफारिस गरी पठाएको भन्दै उनीहरुविरुद्ध दाबी विरोध परेको थियो । बिर्तामोडका नीरजकुमार ओली , अर्जुनधाराका भीमप्रसाद लम्साल र रमेश काफ्ले ,कनकाईका कृष्णमाया भुजेल र तपनकुमार मण्डलविरुद्ध उजुरी परेकोमा छानबिन गरी उनीहरूलाई सदर गरिएको थियो । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र ८ वटा पालिका रहेको छ । बिर्तामोड , अर्जुनधारा , कनकाई , मेचीनगर , भद्रपुर नगरपालिका तथा बाह्रदशी ,हल्दिवारी र बुद्धशान्ति गाउँपालिकाका नेतृत्वहरुले पाँच–पाँच जनाको दरले किसानको नामभन्दा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई सिफारिस गरेका छन् ।
यसअघि शनिवार भएको मतदानबाट तीन जना व्यवसायी प्रतिनिधि निर्वाचित भएका थिए ।
निर्वाचित हुनेहरूमा इन्द्रजित चौधरी , पार्वती खतिवडा(ज्योति) र खगेन्द्र महतो रहेका छन् । दोस्रो पटक बिथोलिएको निर्वाचन अब कहिले हुने भनेर अनिश्चित बनेको छ ।