कृषि बजार बिर्तामोडमा विवाद, निर्वाचन स्थगित
पालिकाहरूले सिफारिस गरी पठाएका किसान प्रतिनिधिका बारेमा विवाद भएपछि कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन स्थगित भएको छ ।
हिजो व्यवसायीहरूको निर्वाचन सम्पन्न भएर आज किसानहरूको निर्वाचन हुने कार्यक्रम रहेको थियो । गैरकिसानलाई पालिकाहरूले सिफारिस गरी पठाएको भन्दै उनीहरुविरुद्ध हिजो नै दाबी विरोध परेको थियो । बिर्तामोडका नीरजकुमार ओली , अर्जुनधाराका भीमप्रसाद लम्साल र रमेश काफ्ले ,कनकाईका कृष्णमाया भुजेल र तपनकुमार मण्डलविरुद्ध उजुरी परेको हो । सिफारिस भएर आएका ती व्यक्तिहरूले निर्वाचनमा भाग लिन पाउनुपर्ने अडान लिएपछि विवाद भएको थियो ।
उजुरी परेका व्यक्तिहरूका कारण आजको लागि तय गरिएको निर्वाचन स्थगित भएको कृषि बजार व्यवस्थापन समितिका सदस्य सचिव सिताराम भट्टराईले बताए । उनले किसान भनेर दाबी गर्ने ती व्यक्तिहरूलाई ठोस प्रमाण ल्याउन भनिएको र भोलि नै छानबिन गरी निर्वाचन गर्ने सहमति भएको जानकारी दिए । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र ८ वटा पालिका रहेको छ । ती पालिकाहरूले पाँच–पाँच जनाको दरले किसानको नाम सिफारिस गरेका छन् । कार्यक्षेत्र भएका बिर्तामोड , अर्जुनधारा , कनकाई , मेचीनगर , भद्रपुर नगरपालिका तथा बाह्रदशी ,हल्दिवारी र बुद्धशान्ति गाउँपालिकाले पाँच जनाका दरले ४० जनालाई किसान भनेर सिफारिस गरेका हुन् ।यसअघि हिजो भएको मतदानबाट तीन जना व्यवसायी प्रतिनिधि निर्वाचित भएका थिए ।
निर्वाचित हुनेहरूमा इन्द्रजित चौधरी , पार्वती खतिवडा(ज्योति) र खगेन्द्र महतो रहेका छन् । चौधरीले सबैभन्दा बढी १३३ मत ल्याएका छन् भने दोस्रो स्थानमा खतिवडाले ११४ मत प्राप्त गरेकी छन् । त्यस्तै व्यवसायी प्रतिनिधिमा निर्वाचित महतोले १०४ मत पाएका छन् । निर्वाचनमा उम्मेदवारी दिएका चन्द्रबहादुर कटुवालले ९२ , धर्मप्रसाद बरालले ९१ , सोमविक्रम बोहोराले ८९ , सिता सिंहले ७६, नथुनीप्रसाद शाहले ३५ र विक्रम बरुवालले २१ मत ल्याएको समितिका अध्यक्ष कमलप्रसाद पौडेलले जानकारी दिएका छन् । कृषि बजारका २९५ जना व्यवसायीहरूले नवीकरण गरेकोमा २७८ जनाले मतदान गरेका थिए ।
निर्वाचन गराउन कृषि विभाग काठमाडौँबाट दामोदर पोखरेल, अनुसा कार्की र उर्मिला शाही आएका छन् । व्यवसायीबाट ३ र किसानबाट ३ गरी ६ जना छानिएपछि उनीहरूमध्येबाट अध्यक्ष चुनिने प्रावधान रहेको छ । ६ जनाबाट निर्णय हुन नसकेमा बिर्तामोड ५ का वडाध्यक्षले निर्णायक मत दिन पाउने अधिकार रहेको छ ।अहिलेसम्म किसान प्रतिनिधिबाटै अध्यक्ष निर्वाचित हुँदै आएको छ ।