२०८२ बैशाख १३ गते , शनिबार

झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

sajilo news
झापा
२०८० माघ १९ गते , शुक्रबार
झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

झापामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू कमल गाउँपालिका- ५ का तीन जना र बिर्तामोड ३ का दुईजना रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

शुक्रबार दिउँसो ३ बजे मेचीनगर नगरपालिका- ६ पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कमल- ५ स्थित नमुना टोलका अन्दाजी १९ वर्षीय प्रितेश राई, सोही ठाउँ बस्ने अन्दाजी २७ वर्षीय यामप्रसाद सुनुवार, अन्दाजी २१ वर्षीय आमोद राईलाई शङ्का लागेर चेकजाँच गरेका थिए । प्रहरीले प्रितेश राईलाई मुख खोल्न लगाउँदा उनको मुखभित्र सेतो रङको प्लास्टिकको पोकामा लुकाइछिपाई ल्याएको ४ ग्राम ४० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो ।

तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।  त्यस्तै बिर्तामोडबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका– ३ का २२ वर्षीय कृष्णकुमार थापा र २३ वर्षीय अजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले १ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार