बिर्तामोड वाणिज्य संघ निर्वाचन : काँग्रेसले महासचिव पद नदिएपछि राप्रपा एमालेसँग मिल्यो
नेपाली काँग्रेसले महासचिव पद नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा राप्रपा, एमाले नेतृत्वको प्यानलमा समाहित भएको छ । काँग्रेस र एमाले दुवै दलसँग उत्तिकै छलफलमा रहेको राप्रपाले काँग्रेसले महासचिव पद नदिने देखेपछि एमाले नेतृत्वको प्यानलसँग सहमति गरेको हो ।यसअघि नै एमालेले राप्रपालाई प्यानलमा आउन आग्रह गरेको थियो । हिजो भएको छलफलमा एमाले , माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाका उद्योगी व्यवसायी एक भएर स्वतन्त्र व्यावसायिक प्यानल बनाई प्रतिस्पर्धामा उत्रने सहमति गरेका छन् ।
दलका नेताका साथ भेला भएका उद्योगी व्यवसायीले सहमतिका साथ अघि बढ्न कार्यदल समेत गठन गरेका छन् । कार्यदलमा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ अरुण र जेबी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणीन्द्रराज न्यौपाने र अर्जुन उप्रेती, राप्रपाबाट वेदप्रकाश अग्रवाल र रञ्जु प्याकुरेल तथा जनता समाजवादी पार्टीबाट गौरीमान राई र अभिषेक राई रहेका छन् । कार्यदलको बैठकले चाँडै उम्मेदवार चयन गर्ने समेत सहमति गरेको छ ।
स्रोतका अनुसार अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल, सचिवमा ओमप्रकाश श्रेष्ठलगायतको उम्मेदवारी रहने भएको छ ।