२०८३ बैशाख ३१ गते , विहीबार

देशभरका कोइला व्यवसायी सङ्गठित बन्दै, संयोजकमा अर्जुन 

sajilo news
झापा
२०८० माघ १७ गते , बुधबार
देशभरका कोइला व्यवसायी सङ्गठित बन्दै, संयोजकमा अर्जुन 

बिर्तामोड । देशभरका कोइला व्यवसायीलाई सङ्गठित गर्दै नेपाल कोइला व्यवसायी संघ गठन गरिएको छ । पहिलो पटक कोइला व्यवसायीलाई एकीकृत गर्दै सङ्घको गठन प्रक्रिया सुरु गरिएको हो ।

झापाको बिर्तामोडमा विराटनगर, इटहरी तथा बिर्तामोडका व्यवसायीहरूको संयुक्त भेलाले व्यवसायी अर्जुनकुमार चुडालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो । बिर्तामोड निवासी चुँडाल कोइला व्यवसायसँगै, घरजग्गा व्यवसायमा समेत आबद्ध रहेका छन् । सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय रहेका चुडालले देशभरका कोइला व्यवसायीहरूलाई एकताबद्ध बनाउदैं अघि बढ्ने उद्देश्यका साथ नेपाल कोइला व्यवसायी संघ गठन गरिएको जानकारी दिए ।

आर्थिक मन्दिले कोइला व्यवसायीहरू समेत प्रभावित भइरहेका बेला व्यवसाय प्रवर्धन गर्दै सबै व्यवसायीका समस्यालाई समाधान गर्नका लागि सङ्घको आवश्यकता महसुस गरेर देशभर रहेका व्यवसायीहरूलाई सङ्गठित गर्ने अभियान सुरु गरेको बताइएको छ । तदर्थ समितिमा रजनीश करनानीलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै खगेन्द्र श्रेष्ठ, मनोहर प्रसाद अग्रवाल र ज्ञानेन्द्र पौडेल सदस्य रहेको पाँच सदस्य तदर्थ समिति गठन गरिएको बताइएको छ ।

तदर्थ समितिलाई बलियो बनाउदैं अघि बढ्नका लागि प्रति व्यवसायी ११ हजार रुपैंया शुल्क लिएर सङ्गठित गर्ने बताइएको छ । संयोजक र कोषाध्यक्षको संयुक्त खाता खोलेर जम्मा गर्दै सङ्घलाई चलायमान बनाउन उक्त रकम खर्च गरिने बताइएको छ । भारत लगायत तेस्रो मुलुकबाट आउने कोइलालाई एक रुपता दिने उद्देश्यले व्यवसायी सङ्गठित गरिएको संयोजक चुडालले जानकारी दिए । इट्टा पकाउन तथा सिमेन्ट कारखाना लगायतका विभिन्न कारखानाहरूले कोइलाको प्रयोग गर्ने गरेका छन् ।

कोइलाले सिमेन्ट, इँटा, मल, स्टिल, स्पन्ज आइरनजस्ता गैर ऊर्जा क्षेत्रका उद्योगहरूमा पनि योगदान पुर्‍याउँदै आएको छ । कोइला व्यवसायीहरूलाई जिल्ला जिल्लामा सङ्गठित गर्दै देशभर नै सङ्गठन गर्दै कोइला व्यवसायीहरूको महासंघ नै गठन गर्ने तयारी सुरु गरिएको हो । पूर्वी नाका काँकडभिट्टाबाट समेत बर्सेनि ठुलो मात्रामा कोइला भित्रने गरेको छ ।

सम्बन्धित समाचार