२०८३ बैशाख ३१ गते , विहीबार

झापा कारागारमा पुस्तकालयको २७ औं वार्षिकोत्सव सम्पन्न

sajilo news
रेवतीराज घिमिरे
२०८० माघ १७ गते , बुधबार
झापा कारागारमा पुस्तकालयको २७ औं वार्षिकोत्सव सम्पन्न

भद्रपुर । झापा कारागार भद्रपुरको बन्दी विकास पुस्तकालयले वृहत् सांस्कृतिक कार्यक्रमसहित पुस्तकालयको २७ औं वार्षिकोत्सव तथा २६ औं साधारण सभा मङ्गलवार सम्पन्न गरेको छ । 

पुस्तकालयले सहिद दिवसको अवसरमा कारागारभित्र भव्य रुपमा सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशमा सुधार गृहको विस्तार गर्नु भन्दा बन्दी भएर कारागार आउनु पर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताए । 

उनले बन्दीहरूले विगतको गल्तीको प्रायश्चित गर्नु पर्नेमा जोड दिँदै बन्दिहरुका समस्याहरू प्रति आफ्नो ध्यानाकर्षण भएकोले समस्याको समाधान गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताए ।  कार्यक्रममा बोल्दै कारागार प्रमुख मोहनलाल पनेरुले ७०० को क्षमता रहेको कारागारमा हाल महिला पुरुष गरी १६०० भन्दा बढी कैदीबन्दी रहेका र उनीहरूबाट निस्कने फोहोर व्यवस्थापन चुनौती रहेको बताए । 

पुस्तकालयका सचिव रमेश पोखरेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सरकारले बन्दीहरूलाई प्रदान गर्दै आएको दैनिक ७ सय ग्राम चामल र ८० रुपैयाँले अहिले सन्दर्भमा सुविधा अपुग भएको बताउँदै सुविधा बढाउन माग गरेका छन् । 

उनले  आचरणको आधारमा कैद छुटको व्यवस्था गर्दै हचुवाको भरमा कारागार पठाइने प्रवृत्तिको अन्त्य हुनु पर्ने बताए । उनले पुस्तकालयको १५ लाख २८ हजार ३ सय ९२ रुपैयाँको कारोबार गरेको बताउँदै  पुस्तकालयले हाल सम्म गरेका गतिविधिका बारेमा अवगत गराएका थिए । कार्यक्रममा सङ्घीय सांसद एलपि सावा, कोसी प्रदेश सांसद गोपाल तामाङ ,दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई लगायतले बोल्दै कारागारलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 

 पुस्तकालयका अध्यक्ष मनोज लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत अभिरमण्डु माझी र सञ्चालन सचिव पोखरेल र मेरिना तुम्साले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरू राजाराम पोखरेल, सविन राई, अस्मिता अधिकारी लगायतले सङ्गीत प्रस्तुत गरेका थिए । 

सम्बन्धित समाचार