२०८१ माघ २५ गते , शुक्रबार

‘सोहराय’ पर्व, आज झापाका ५ पालिका बिदा

sajilo news
झापा
२०८० माघ १५ गते , सोमबार
‘सोहराय’ पर्व, आज झापाका ५ पालिका बिदा

झापा । आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापाको हल्दिवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले आज स्थानीय बिदा दिएका छन् ।

ती पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएका छन्। ती पालिकामा पालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने छन् । कमल र गौरीगन्ज गाउँपालिकाले भने यसअघि माघ ११ गते नै सार्वजनिक बिदा दिएको नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले जानकारी दिएका छन् । उनका अनुसार झापामा सन्थाल समुदायको जनसङ्ख्या करिब ३७ हजार रहेको छ ।

सन्थाल समुदायले यो पर्वलाई धार्मिक महत्वका साथ मनाउने गर्दछन् । हल्दिवारी, कचनकवल, बाह्रदशी, झापा, कमल, गौरीगन्ज गाउँपालिका तथा भद्रपुर र कनकाई नगरपालिकाभित्र सन्थाल समुदायको बाक्लो बसोबास रहेको पाइन्छ ।

के हो ‘सोहराय’ पर्व

सोहराय पर्व सन्थाल जातिहरूको धार्मिक पर्व हो । सन्थालहरूको चाड सँगसँगै अन्नवाली संरक्षण र गाईवस्तुहरूको सम्मान गर्ने पर्वका रुपमा समेत यो पर्वलाई लिइने गरिएको छ । सोहराय शब्दको उत्पत्ति ‘साहाराय’ बाट अपभ्रम्स भएर ‘सोहराय’ भएको हो । सन्थाल समुदायले यो पर्व छ दिनसम्म मनाउने गरेको नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिव मुर्मूले जानकारी दिए । उनका अनुसार सोहरायको पहिलो दिनलाई ‘उम’ भनिन्छ भने दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौँ दिनलाई ‘हाकुकाद्कम’ र छैठौँ दिनलाई ‘साकरात’ भनिन्छ । नेपालमा बसोबास गर्ने सन्थाल समुदायले यो पर्व गाउँको समय अनुकूल पुस महिनाको अन्तिममा मनाउँछन् भने कसैले माघ महिनाको पूर्णिमा र कसैले फागुनको पूर्णिमासम्म मनाउने गरेका छन् । सन्थाल समुदायले यो पर्व ‘सारना’ ९बिदिन० धर्म अन्तर्गत रहेर यो पर्व मनाउने गरेको नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिव बताउँछन् ।

सम्बन्धित समाचार