२०८१ श्रावण ३ गते , विहीबार

जलथल जंगलको रैथाने हात्तीका कारण स्थानीयको उठिवास

sajilo news
झापा
२०८० माघ ७ गते , आईतबार
जलथल जंगलको रैथाने हात्तीका कारण स्थानीयको उठिवास

ललिता राजवंशी । उहिले चोर डकैतीको डरले मानिसहरू बसाइँ सर्थे, अहिले जङ्गली हात्तीका कारण । जङ्गली हात्तीले लगातार जनधनको क्षति गर्दै आएपछि जलथल जङ्गल आसपासका कतिपय बासिन्दाहरू बसाइँ सर्न बाध्य छन् ।

कचनकवल- १ फूलवासीका सुवेदी परिवारले हात्तीकै कारण पुरानो थातथलो छोड्नु पर्‍यो । करिब चार दशकदेखि बसोबास गर्दै आएका किशोरप्रसाद सुवेदीको घर हात्तीले भत्काइ तहसनहस गर्दा उनीहरू बसाइँ सरेर कमल गाउँपालिकाको मङ्गलवारे गएका छन् । उनीहरू अहिले अर्काको घरमा भाडामा बस्छन् । ‘गत जेठ महिनामा हात्ती आई हाम्रो घर लगातार तीन दिनसम्म भत्काइरह्यो ’ किशोरप्रसाद सुवेदीकी श्रीमती सीता सुवेदीले भनिन्, ‘बस्नै नसकेर हामीले बसाइँ सरेका हौँ ।’ सुवेदी परिवारको काठको टाँडे घर रहेको थियो । हात्तीले घर भत्काउनुका साथै घरभित्रको धान खाएर नष्ट पारेको थियो । तीन विगाह खेती गर्दै आएका सुवेदी परिवारले घरबार छोडेर अन्यत्र बस्नु परिरहेको हो । हात्तीका त्रासका कारण कचनकवल १ को फूलभासी गाउँ पातलिँदै गएको छ । त्यहाँका अरूले पनि गाउँठाउँ छोड्दै गएको सीताले बताइन् ।

राम्रो कमाइसँगै हात्तीको त्रासका कारणले पनि जलथलतिरका धेरै जना बजार क्षेत्रमा बसाइँ सरेका छन् । मानवीय र आर्थिक क्षतिसँगै जङ्गली हात्तीले सामाजिक जीवनमा असर पुर्‍याएको हो । बसाइँ सराइसँगै हात्तीकै कारण समाजमा झैझगडा हुने गरेको छ । खेदिएको हात्तीले कसैको घर र बालीमा क्षति पुर्‍याएको खण्डमा अरूले धपाएर आफ्नो क्षति गराएको भन्दै समाजमा झैझगडा हुने गरेको छ । हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ । हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने गरेको छ । पक्की घर भएका धनीहरू हात्तीबाट सुरक्षित देखिन्छन् भने सानो झुप्रो घर भएकाहरू हात्तीको निशानामा पर्दै आएका छन् । भौतिक क्षतिसँगै हात्तीको आक्रमणबाट मृत्यु हुनेहरू गरिब निमुखाहरू नै बढी छन् । झुप्रो घरमा बस्दा होस् , घाँस दाउरा गर्न जङ्गल जानु पर्दा होस् वा मजदुरी गर्न पैदल हिँडेर जानुपर्दा होस् तिनै निम्न वर्गका मानिसहरू हात्तीको आक्रमणमा परेका छन् ।

पूर्वी तराईको दक्षिणी कुनामा रहेको एक टुक्रा जङ्गल जलथलका कारण यहाँका बासिन्दा लाभान्वित र दुःखी दुवै भएका छन् ।यस जङ्गलको आसपासमा राजवंशी, क्षेत्री, ब्राह्मण, मेचे, सन्थाल, राई, लिम्बू, तामाङ आदि जातिहरूको बढी बसोबास छ । जङ्गलबाट प्रत्यक्ष रुपमा घाँस दाउरा, काठ, कन्दमुल, सागपात र जडीबुटीबाट लाभान्वित छन् भने अप्रत्यक्ष रूपमा स्वच्छ वातावरण, हावापानी र अक्सिजनको उपयोग गरेको पाइन्छ ।

करिब २०६८ सालदेखि भारतबाट नेपालको मेचीनगर नगरपालिका हुँदै र मेची खोलाबाट यस जलथल जङ्गलमा हात्ती आएको पाइन्छ । जब जलथल जङ्गलमा हात्तीको आगमन भयो ,तबदेखि जलथल वरपरको जनजीवन कष्टकर बनेको हो । हात्तीको कारण घर, बालीसँगै मानिसको ज्यान पनि जोखिममा परेको छ । यस क्षेत्रमा करिब ५०० घरगोठ भत्काएको छ । २०६८ पुस २१ देखि यस क्षेत्रमा २० जनाको हात्ती आक्रमणमा परी मृत्यु भइसकेको छ । करिब एक दर्जन घाइते भएका थिए । सँगै यस क्षेत्रमा ६वटा हात्तीको समेत मृत्यु भएको छ । हात्ती मारिएको वा असन्तुलन (अपच) खानाको कारण मरेको बझाई छ ।

यस क्षेत्रमा साना बालबालिकालाई समेत मानसिक र शारीरिक असर परेको छ । साँझ बिहान विद्यालय आवतजावतमा परेको असर र राति अनिन्द्रा बस्नु पर्ने बाध्यता छ। बालकदेखि वृद्धसम्मले हात्तीबाट कुनै घटना नघटोस् भनी घर छेउछाउ आइपुग्दा टिन, बाजा, शङ्ख, साइरन बजाएर, पराल बालेर आ–आफ्नो सुरक्षा गर्दै दिनचर्या बिताइरहेका छन् । साँझ जङ्गलबाट बाहिर आउने र बिहानी पख जङ्गलभित्र जाने हात्तीको दैनिक कार्य तालिकाजस्तै बनेको छ ।

 

सम्बन्धित समाचार