२०८१ बैशाख ३ गते , सोमबार

बेलायतमा नेपाली विद्यार्थीको पीडा : न छ कोठा, न पाइन्छ काम

sajilo news
पत्रपत्रिका
२०८० पौष २२ गते , आईतबार
बेलायतमा नेपाली विद्यार्थीको पीडा : न छ कोठा, न पाइन्छ काम

लन्डन  ।  जनवरी ५ मा लन्डन उत्रनु दुई दिनअघि मुकेश महतोले फेसबुक ग्रुप ‘नेप्लिज इन यूके’ लेखे, ‘एक महिनादेखि खोज्दा पनि मैले कोठा पाउन सकिन। यदि तपाईंहरू कसैसँग छ भने मलाई जरुरी छ। आएर कहाँ बस्नु ? के गर्नु, के नगर्नुको अवस्था आइसक्यो। कृपया मलाई सहयोग गर्नुहोस्।’ त्यसको केही दिनअघि सोही प्लेटफर्ममा वसन्त लिम्बूले लेखेका थिए, ‘यूके आएको साढे तीन महिना भयो, काम पाएको छैन। एजेन्सी गयो, विद्यार्थीलाई काम छैन भन्छ। ढोका–ढोका पुगेर खोज्यो, पाइँदैन। अनलाइन आवेदन गर्दा रेस्पोन्स नै आउँदैन। यूकेमा बाँच्न गाह्रो भयो। मलाई काम खोज्न सहयोग गरिदिनुस्।’ 

मुकेश र वसन्त त प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समय अध्ययनका लागि आएका धेरै नेपाली विद्यार्थीलाई बेलायतको जीवन साँच्चिकै कष्टकर बनेको छ। उज्ज्वल भविष्यको ठूलो सपना बुनेर बेलायत आएका उनीहरू बस्ने कोठा र काम नपाउने समस्यादेखि बेलायत सरकारको कठोर इमिग्रेसन नीतिसम्मको चेपुवामा परेका छन्। वार्षिक दशौं लाख रुपैयाँको चर्को युनिभर्सिटी शुल्क, कन्सल्टेन्सीले दिलाएका आश्वासनविपरीतको अवस्था र नेपालमा रहेको परिवारका अपेक्षाजस्ता कारण पनि कतिपय तनाव र डिप्रेसनसम्मको स्थितिमा पुग्ने जोखिम देखिएको छ। 

बेलायतमै आफ्ना निकट आफन्त हुने केही अपवाद छाडेर काम र कोठाका लागि संघर्ष गर्नुपर्ने बेलायत आउने हरेक विद्यार्थीको नियति बनेको छ। लन्डनको एयरपोर्टमा उत्रिँदासम्म पनि बस्ने कोठा नपाएपछि कतिपय महँगो शुल्क तिरेर होटलमा हप्ता, महिना बिताउन बाध्य हुने गरेका छन्। 

बेलायतमा अफ्ठेरोमा परेका नेपाली विद्यार्थीलाई सहयोग गर्दै आएका लन्डनस्थित नेपाल हाउस सञ्चालक वीरेन्द्र नेपालको अनुभवमा धेरै विद्यार्थीले भोगेका समस्याको मुख्य कारण बुझाइको कमी हो। 

‘बेलायत आउन पाएपछि अरू केही नबुझी हाम फाल्दा समस्यामा परेका धेरै भेटिए’, उनी भन्छन्, ‘कोर्स, युनिभर्सिटीबारे केही थाहा छैन। टुपुक्क हुने गरी ल्याएर आएको पैसा पहिलो महिनाकै कोठा भाडा तिर्दा सकिन्छ। आउनेबित्तिकै पाउन्ड कमाइन्छ भन्ने ठानेका हुन्छन्, यहाँ आउँदा वास्तविकता अर्कै हुन्छ। नेपालमा ऋणधन गरेर आएको छ, परिवारले आशा गर्न थाल्छन्। अनि प्रेसर भइहाल्छ नि !’ 

शैक्षिक परामर्शदाता कम्पनी (कन्सल्टेन्सी) ले दिएको गलत र भ्रमपूर्ण जानकारीले पनि कतिलाई अफ्ठेरो पार्ने गरेको पाइएको छ। लन्डनभित्रकै कलेजमा पढाइ हुने भनेर कन्सल्टेन्सीले पठाएका कैयौं विद्यार्थीलाई यहाँ आइपुगेपछि मात्र आफ्नो युनिभर्सिटी लन्डनबाट सयौं माइल दूरीका सहरमा पर्ने थाहा हुन्छ। लन्डनबाहिर काम पाउन झन् गाह्रो मात्र होइन, लन्डनभित्र कोठा खोजेर डिपोजिट बुझाउनेहरूलाई अन्योल पर्छ– न लन्डन बसेर टाढाको सहरसम्म कलेज धाउनु न त डिपोजिट माया मारेर छोड्नु। 

‘केही कन्सल्टेन्सीले बेलायत पुग्नासाथ एयरपोर्ट पिकअपदेखि बस्ने कोठा र कामसम्मको ग्यारेन्टी गर्दा रहेछन्। तर, विद्यार्थी बेलायत आइपुग्दा न त कोठा तयार छ, न काम नै’, नेपालले सुनाए। यसरी ‘बिचल्ली’ बनेर सहयोग खोज्दै आउने विद्यार्थीहरूलाई केही दिन अस्थायी कोठा मिलाएर स्थायी कोठा र रोजगारीसम्म खोज्न आफूहरूले सहयोग गरेको उनले बताए। गत वर्ष एक हजार बढी नेपाली विद्यार्थी बेलायत ल्याएको रियल ड्रिम्स कन्सल्टेन्सीका म्यानेजिङ डिरेक्टर वसन्त नेपालका अनुसार बेलायत आउने हरेक नेपाली विद्यार्थीले युनिभर्सिटीलाई वार्षिक औसत २० लाख शुल्क तिरेका हुन्छन्।

‘बेलायत युनिभर्सिटीमा डिग्री पढ्न आउने देश हो। अरू देशहरू जस्तो कलेजहरूमा आउने होइन। यहाँबाट पूरा गरेको डिग्रीले संसारभर ठूलो महत्व पाउँछ’, यहाँस्थित योर्क सेन्ट जोन युनिभर्सिटीका लागि नेपालका ‘कन्ट्री म्यानेजर’ समेत रहेका नेपाल भन्छन्, ‘त्यसैले यहाँ पढ्नकै लागि आउने हो। पढाइ साइडमा राखेर पैसा कमाउने लक्ष्य हो भने त्यो सम्भव छैन भनेर बुझ्न आवश्यक छ।’ 

आफ्नो कोर्स र युनिभर्सिटीबारे बुझेर पर्याप्त जानकारी लिन, युनिभर्सिटी शुल्कका लागि पहिले नै जोहो गर्न र पढाइलाई पहिलो प्राथमिकतामा राख्न नसके बेलायत आएर दुःख पाउनुको विकल्प नरहने उनको भनाइ छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

सम्बन्धित समाचार