झापामा तीनजना सवार मोटरसाइकल बससँग ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते
बिर्तामोड- २ स्थित चारपानेमा बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
शनिबार साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कँदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ख–०१४९ नम्बरको बससँग मे १ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो । पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीनजना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । दुर्घटनामा परी कनकाई ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
उप्रेतीले चलाएको मोटरसाइकलमा ३ जना सवार रहेका थिए । मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी कनकाई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका हुन् । माझीको बिर्तासिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ ।