पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन १८५ तोला र चाँदी साढे ९२ केजी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा १८५ तोला बढी सुन जम्मा भएको छ। पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म उक्त परिमाणमा सुन जम्मा भएको हो। पाथीभरा दर्शनमा आउने भक्तजनहरुले सो सुन चढाएका हुन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार हालसम्म कुल १८५ तोला ३८ लाल सुन पाथीभरामा संकलन भएको छ।
त्यसमध्ये ८६ तोला ९३ लाल शुद्ध अर्थात रिफाइन गरिएको रहेको छ भने बाँकी ९८ तोला ४१ लाल रिफाइन नगरिएको सुन रहेको हाङ्बाङले जानकारी दिए। हालसम्म रिफाइन नभएको चाँदी ९२ किलोग्राम ६५० ग्राम रहेको समितिका सदस्य एवम् सुनचाँदी व्यवस्थापन उपसमिति संयोजक शम्भुप्रसाद गौतमले जानकारी दिए।
समितिले रिफाइन नभएको सुन र चाँदी शुक्रवारदेखि रिफाइन गर्न थालेको जनाएको छ। समितिकाअनुसार रिफाइन गर्न केही दिन लाग्ने र रिफाइन गरिसकेपछि मात्र शुद्ध सुन र चाँदीको परिमाण थाहा पाइनेछ। सुन र चाँदी रिफाइन अर्थात शुद्ध गरिसकेपछि लिलाम बिक्रीको प्रक्रिया थाल्ने योजना रहेको समितिका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए।
सुन र चाँदी लिलाम बिक्री गरेर प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने उनले बताए। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष अध्यक्ष रक्की थेबेका अनुसार भक्तजनले पाथीभरामा नगदका साथै सुन, चाँदी र अन्य धातुहरुको गरगहना तथा सामग्री चढाउँदै आएका छन्।