२०८३ बैशाख १९ गते , शनिबार

‘धुर्वे’ हात्तीले भत्कायो चार घर

sajilo news
रासस
२०८० पौष २० गते , शुक्रबार
‘धुर्वे’ हात्तीले भत्कायो चार घर

चितवन राष्ट्रिय निकुञ्जमा रहेको धुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धुर्वे हात्तीले बिहीबार भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। 

बुधबार साँझ माडी क्षेत्रमा देखिएको हात्ती बिहीबार बिहान बयरघारी क्षेत्रमा आइपुगेको हो। अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बनेको उनले बताए। हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ। रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए। 

हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना र समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरेको उनले जानकारी दिए।  हात्तीलाई बस्ती पस्न नदिन स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकेको उनको भनाइ छ। हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ।

सम्बन्धित समाचार