बालेनले गरे सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् । प्रमुख शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । नगर कार्यपालिकाले गरेको निर्णय आफुखुसी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको हो ।
नगर सभाले पाँच जना कार्मचारीको करार अवधि थप गर्ने निर्णय गरेकोमा वरिष्ठ शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन उक्त निर्णय दुई पटक फेरबदल गरेर छोरीको नाम समेत घुसाएको आरोप छ ।
नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको स्रोतले बतायो । बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न उनीहरु निलम्बनमा परेका हुन् । अहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिइएको छ ।