शुभसाइत साकोसले भन्यो- सदस्यहरुको बचत रकम फिर्ता हुन्छ, कसैको पैसा डुब्दैन
भद्रपुर । भद्रपुर–१० स्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरूको रकम फिर्ता दिने प्रतिबद्धता जनाएको छ । भद्रपुरमा आज पत्रकार भेटघाटको आयोजना गरी संस्थाले यस्तो प्रतिबद्धता जनाएको हो ।
बजारमा ठुलो मात्रामा ऋण लगानी भएको र ऋणीहरूले आर्थिक समस्या देखाउँदै रकम नबुझाइरहेकोले बचतकर्ताको रकम फिर्ता गर्न समस्या भइरहेको संस्थाका उपाध्यक्ष सञ्जोक गिरीले बताए । बचतकर्ताहरूको रकम फिर्ता गराउन संस्थाका सञ्चालक समिति हर सम्भव प्रयास गरिरहेको उपाध्यक्ष गिरीको भनाई छ ।
'ऋण असुलीमा समस्या भएकाले संस्था समस्या परेको हो,' उनले भने, 'सदस्यलाई केही समय धैर्य धारण गरी ऋण असुलीउपर गर्ने वातावरण सिर्जना गरिदिन अपील गर्न चाहन्छु ।' बचत फिर्ताका लागि सदस्यहरूको दबाब आइरहेको र कार्यालय सञ्चालन गर्ने समेत वातावरण नहुँदा थप समस्या भइरहेको उनले बताए ।
२०७७ सालमा स्थापना भएको शुभसाइतमा हाल करिब दुई हजार सदस्य आबद्ध छन् । बिना धितो बजारमा १५ हजारदेखि ५ लाख रुपैयाँसम्म लगानी भएको छ । २२६ जना सदस्यलाई करिब १ करोड ५० लाख रुपैयाँ लगानी गरिएको उनले बताए । कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ । ‘सकेसम्म स्रोत व्यवस्थापन गरी सहकारीको आर्थिक पाटो सहज बनाउने कोसिस गरिरहेका छौँ’, उपाध्यक्ष गिरीले भने, ‘हामीलाई केही समय स्रोत जुटाउन समय लाग्छ, बिस्तारै सदस्यको बचत फिर्ता गर्छौँ, कसैको पैसा डुब्दैन ।’
आर्थिक समस्याकै कारण ज्ञानेचोक र ढडुवाको शाखा बन्द गर्नु परेको बताउँदै उनले भने, 'भद्रपुर शाखा सञ्चालन गर्ने वातावरण बनाइदिन बचतकर्ताहरूसँग अपिल गर्न चाहन्छु ।' 'म पनि भद्रपुरवासी नै भएकोले यहाँका स्थानयीबासीहरुले जम्मा गरेको रकम खाएर काहीँ भाग्दिन,' उनले थपे ।